सुनसरीको बर्जु गाउँपालिका ५ शान्तिवनस्थित एभरेष्ट साईन्स सेन्टरमा चन्द्रमाबाट ल्याईएको मेयर बसाल्ट नामक ढुंगा प्रर्दशन गरिएको छ ।
अमेरीकी अन्तरीक्ष यान एपोलो १७ बाट ल्याईएको उक्त ढुंगा पौने चार अर्ब बर्ष पुरानो रहेको बताईएको छ ।
जेठ ३ गते सो ठाउँमा आयोजित कार्यक्रमकाबीच नाशाका बरिष्ठ बैज्ञानिक -यान जिग्लरले आफुसंगै अमेरीकाबाट ल्याएका ढुंगाको अनावरण गर्नुभयो । नाशाका वैज्ञानिकहरुले पृथ्वीबाट ३ लाख ८४ हजार किलोमिटर टाढा रहेको चन्द्रमाबाट उक्त ढुंगा ल्याएका थिए ।
साईन्स सेन्टरले ‘शान्तिवन देखि चन्द्रमा सम्म–२’ शिर्षकमा चन्द्रमाको सो ढुंगा प्रर्दशन गरेको हो । साईन्स सेन्टरले चन्द्रमाको ढुंगाको साथै डाईनोसोरको उत्पति र विनाशको जीवन चक्र समेत प्रर्दशन गरेको छ । आउदो ६ महिनासम्म साईन्स सेन्टरमा उक्त ढुंगा प्रर्दशनमा रहने जनाईएको छ ।
अमेरीकी अन्तरीक्ष यान एपोलो १७ बाट चन्द्रमामा पुगेका अन्तरिक्षयात्री हैरिसन एच जैक स्मितले २०२९ साल मंसिर २६ गते ल्याएका चट्टानको टुक्रा एभरेष्ट साईन्स सेन्टरमा प्रर्दशन गरिएको हो । सो समयमा अपोलो १७ यानबाट ८ किलो १ सय १० ग्रामको चन्द्रमाको चट्टान ल्याईएकोमा त्यसैबाट टुक्र्याईएको १ सय २० ग्राम तौल रहेको टुक्रा साईन्स सेन्दटरमा प्रर्दशन गरिएको छ ।
नाशाले उक्त चट्टानलाई पृथ्वीको वातावरण र मौसमले कुनैपनि प्रतिकुल असर नपार्नेगरि पारदर्शी एक्रेलिक सुरक्षा कवचभित्र राखेको छ । नाशाका बैज्ञानिकहरुले उक्त चट्टानको नाम मेयर बासल्ट नामाकरण गरेका छन । उक्त चट्टान ३ अर्ब ७५ करोड बर्ष बढी पुरानो रहेको नाशाका बरिष्ठ बैज्ञानिक -यान जिग्लरले दाबी गर्नुभयो ।
चन्द्रमाको ढुंगा प्रर्दशन सम्बन्धि जानकारी पाएका विभिन्न जिल्लाका विद्यार्थीहरुले साईन्स सेन्टरको अवलोकन गरेका छन । प्रर्दशनीबाट विशेषगरि विद्यार्थीहरु लाभान्वित हुने राजविराजकी विद्यार्थी नेहा झाको भनाई छ ।
चट्टानसंगै नेपाल आएका वैज्ञानिक जिग्लरले ३ दिनसम्म एभरेष्ट साईन्स सेन्टरमा तथा त्यसपछि काठमाण्डौ सहित नेपालका विभिन्न शहरहरुमा पुगेर विज्ञानका विद्यार्थीहरु माझ अन्तरिक्ष र चन्द्रमा सम्बन्धि प्रस्तुतीकरण दिने कार्यक्रम तय गरिएको छ । नेपालको पहिलो विज्ञान केन्द्रकोरुपमा रहेको एभरेष्ट साईन्स सेन्टरको २०५८ सालमा स्थापना भएको थियो ।
यसअघि २०७० सालमा समेत साईसन्स सेन्टरले दुई महिनासम्म सोहि ढुंगा प्रदर्शन गरेको थियो ।