मोरङको कटहरी गाउँपालिकाले रसुवामा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि २६ लाख रुपैयाँभन्दा बढी राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाको भदौ १५ गते सोमबार बसेको कार्यपालिकाको ९५ औं बैठकले प्राकृतिक विपत्तिको यो कठिन घडीमा मानवीय सहायता स्वरूप कुल २६ लाख ६१ हजार ६ सय ९१ रुपैयाँ ९९ पैसा सहयोग गर्ने औपचारिक निर्णय गरेको हो । निर्णय अनुसार उक्त सहायता रकम सीधै ‘प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोष’ को खातामा जम्मा गरिने कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले जानकारी दिनुभयो ।
विपत्तिको यो समयमा स्थानीय सरकारको दायित्वबारे बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले मुलुकले सोच्नै नसकिने खालको अकल्पनीय र पीडादायी विपतिको सामना गरिरहेको बताउनुभयो । “ठूलो मात्रामा धनजनको क्षति भई हजारौँ नागरिक प्रभावित भएको यस दुःखी अवस्थामा सबै क्षेत्रबाट सहयोग र सहानुभूति आवश्यक छ”अध्यक्ष चौधरीले भन्नुभयो, “हाम्रो पालिकाको स्रोत र साधनले भ्याएसम्म पीडित भाइबन्धुहरूको घाउमा मलम लगाउन यो सानो सहयोग हस्तान्तरण गर्ने निर्णय गरेका हौँ ।”
उहाँले संकटको यस समयमा सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार र राहतका कार्यहरूलाई थप प्रभावकारी बनाउन स्थानीय तहका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।




