आसन्न जितिया पर्वको अवसरमा विराटनगरमा अन्र्तराष्ट्रिय जितिया पर्व समारोह आयोजना गरिएको छ ।
विराटनगर–१४ स्थित अप्पन विराटगढ परोपकार समाजको आयोजनामा जितिया पर्व समारोह सम्पन्न भएको हो । स्थानिय महेन्द्र मोरङ कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा नेपाल तथा भारत दुवै देशका कलाकारहरुले सहभागिता जनाएका छन । सो अवसरमा जितिया पर्वको महत्वको बिषयमा समेत चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले जितिया पर्वको अवसरमा सरकारले देशब्यापी बिदा दिनुपर्ने माग गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्राईम हस्पिटल विराटनगरका अध्यक्ष डा.रमेश चौरसियाले तराईमधेशको संस्कृतिसंग जोडिएको जीतिया पर्वमा बिदा दिनुपर्ने धाराणा ब्यक्त गर्नुभयो । उहाँले सदियौं देखि मनाईदै आएको यसपर्वमा बिदा नदिदा ब्रतालुहरुलाई समस्या हुने गरेको बताउनुभयो । आयोजक संस्थाकी अध्यक्ष बसुन्धरा झाले मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान अन्र्तगत कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले संस्थाले १५ औं संस्करणको रुपमा यसपटक समेत कार्यक्रम आयोजना गरेको बताउनुभयो । आफुहरुले बर्षौदेखि प्रदेश सहित संघिय सरकारलाई झक्झक्याउदा समेत सरकारले बिदा नदिएको उहाँले गुनासो गर्नुभयो । मैथिली भाषासेवी सनातन मण्डलले मिथिलाञ्चलमा सन्तानको सुरक्षा तथा दीर्घायुको कामना सहित अत्यन्त निष्ठापुर्वक यो पर्व मनाउने गरिएको बताउनुहुँदै पर्वका दिन अविलम्ब बिदा दिनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा गायक विरेन्द्र झा ले गायन प्रस्तुत गर्नुका साथै स्थानिय तथा भारतबाट आमन्त्रित कलाकारहरुले जितिया पर्व सहित मैथिली भाषाका विभिन्न सांस्कृतिक गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा आयोजक समितिले मिथिला चित्रकला प्रर्दशनी समेत आयोजना गरेको थियो । यसवर्ष असोज १८ गते जितिया पर्व मनाईने छ ।



