भगवान श्रीकृष्ण जन्मोत्सव (श्रीकृष्ण जन्माष्टमी) को पावन अवसरमा आज बिराटनगरमा श्री सत्यनारायण मन्दिर परिवारको आयोजनामा भव्य शोभायात्रा सम्पन्न भएको छ ।

मेनरोडस्थित सत्यनारायण मन्दिर परिसरबाट शुरु भएको शोभायात्राले शनिहाट,तिनपैनी हुँदै विराटनगर १ स्थित श्रीराधाकृष्ण मन्दिरसम्मको यात्रा तय गरेको थियो । नगरका विभिन्न भागको परिक्रमा गरेको उक्त शोभायात्रामा स्थानीय गण्यमान्य व्यक्तिहरूका साथै ठूलो संख्यामा धर्मपरायण महिला तथा पुरुषहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

शोभायात्राका संयोजक ओमप्रकाश अग्रवालका अनुसार सोहि अवसरमा प्रवचन कार्यक्रमसमेत सम्पन्न भएको छ, जसमा श्रीहरि सत्संग समिति नेपालका प्रतिनिधि तथा कार्यकर्ताहरूको सहभागिता थियो । जन्माष्टमीको अवसरमा दिउँसो बालगोपाल प्रतियोगिता, राति भजन–कीर्तन र मध्यराति भगवान श्रीकृष्णको जन्मोत्सव मनाइनेछ ।

जन्मोत्सव पश्चात् व्रतालुहरूलाई प्रसाद वितरण गर्ने कार्यक्रम समेत रहेको शोभायात्रा संयोजक अग्रवालले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु