विराटनगर। घर निर्माणका क्रममा उखेलेर फालिएका दुईवटा हुर्किसकेका रुखहरूले अन्ततः नयाँ जीवन पाएका छन्।

विराटनगरको मेनरोडस्थित एक जग्गामा घर बनाउने क्रममा चार दिनअघि उखेलेर फालिएको १५ वर्ष पुरानो पिपल र २ वर्ष पुरानो बरको रुखलाई स्थानीय हरित अभियन्ताहरूले सफल उद्धार गरेका हुन्।

‘संकल्प हरित विराटनगर’का नेतृत्वकर्ता एवं हरित अभियन्ता पारुल क्षेत्रीको टोलीले तिनै उखेलेर फालिएका रुखहरूलाई सुक्न नदिई उद्धार गरेको हो। अभियन्ताहरूको सक्रियतामा स्काभेटर र ट्रयाक्टरको प्रयोग गरी रुखहरूलाई जगैदेखि सुरक्षित रूपमा उचालेर नयाँ गन्तव्यसम्म पुर्याइएको थियो। उद्धार गरिएका दुवै रुखलाई विराटनगर वडा नम्बर ८ स्थित अशोक चोक पूर्वको सडक किनारमा लगेर विधिपूर्वक पुनः रोपिएको छ।

यसरी हुर्किसकेका र फालिइसकेका रुखहरूलाई मेसिनरी प्रयोग गरेर सफलतापूर्वक स्थानान्तरण र उद्धार गरिएको यो घटना नेपालमै सम्भवतः पहिलो भएको अभियन्ता क्षेत्रीले दाबी गर्नुभयो। विकास निर्माणका नाममा जथाभाबी रुख काटेर वा उखेलेर फाल्ने प्रवृत्ति बढिरहेका बेला यसरी पुराना रुखलाई मर्न नदिई स्थानान्तरण गर्न सके पर्यावरण संरक्षणमा निकै ठूलो टेवा पुग्ने उहाँको भनाइ छ।

विराटनगरका हरित अभियन्ताहरूको यो नवीन र प्रशंसनीय प्रयासले वातावरणीय संवेदनशीलताको बलियो सन्देश दिएको छ। सहरलाई हरियाली बनाउन र रुख बचाउनका लागि यो अभियान एउटा अनुकरणीय उदाहरण बनेको छ।

सम्बन्धित खबरहरु