विराटनगर, १२ असोज — मोरङको ग्रामथान गाउँपालिकामा ‘तेस्रो मञ्जिल मण्डल स्मृति रानीगढी रनिङ कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
मञ्जिल रानीगढी क्लबको आयोजनामा ग्रामथान गाउँपालिका–६ भरचोलगढीस्थित खेलमैदानमा आगामी असोज १५ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।
स्थानीयस्तरमा रहेका प्रतिभावान खेलाडीहरूको पहिचान, विकास तथा युवाहरूलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष कृष्ण मण्डल थारूले जानकारी दिए।
प्रतियोगितामा आयोजक रानीगढी मञ्जिल फुटबल क्लबसहित मोरङ र सुनसरीका गरी कुल १० वटा टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, पिकेएफसी बाहुनी, जुरा फुटबल क्लब, ब्ल्याक डायमन्ड फुटबल क्लब, फाइभ स्टार फुटबल क्लब, देवनारायण युनाइटेड, लकराहा फुटबल क्लब, जुनियर फुटबल क्लब र खुकुरी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीले रनिङ कपसहित नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायतका विधागत विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।



