विराटनगर — कोशी र मधेश प्रदेशका १९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम खुट्टा उपलब्ध गराइएको छ।

चेतनशील मित्र परिषद्, विराटनगरको आयोजना तथा मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशालाको प्राविधिक एवम् आर्थिक सहयोगमा उक्त कृत्रिम खुट्टा वितरण गरिएको हो। विराटनगरस्थित सत्यनारायण धर्मशाला परिसरमा आयोजित एक कार्यक्रमका बिच आवश्यकता भएका व्यक्तिहरूलाई खुट्टा हस्तान्तरण गरिएको हो।

संस्थाले कृत्रिम खुट्टा वितरण गर्ने विषयमा यसअघि नै सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी गराएको र सो क्रममा सम्पर्कमा आउनुभएका व्यक्तिहरूलाई नापजाँच गरी वितरण गरिएको परिषद्का महासचिव पवन अटलले जानकारी दिनुभयो।

कृत्रिम खुट्टा प्राप्त गरेपछि इलामको देउमाई नगरपालिका–५ का ४३ वर्षीय युधिर बस्नेतले नयाँ जीवन पाएको अनुभूति व्यक्त गर्नुभयो। “वि.सं. २०७० सालमा भएको दुर्घटनामा एउटा खुट्टा गुमेपछि निकै सास्ती झेल्दै आएको थिएँ,” बस्नेतले भन्नुभयो, “विगतमा कृत्रिम खुट्टा लगाउने प्रयास गरे पनि महँगो भएकाले सम्भव भएको थिएन। अहिले निःशुल्क पाउँदा निकै सहज भएको छ, नयाँ जुनी नै पाएजस्तै महसुस भइरहेको छ।”

त्यस्तै बुढीगङ्गा–६ का उमालाल माझीले पनि दुई वर्षअघिको दुर्घटनामा खुट्टा गुमाउँदा ठुलो समस्या झेल्नुपरेको स्मरण गर्दै अहिले कृत्रिम खुट्टा लगाएपछि हिँडडुल गर्न निकै सहज भएको प्रतिक्रिया दिनुभयो।

परिषद्का अध्यक्ष रामजीवन अग्रवालका अनुसार प्रारम्भिक चरणमा ३० जनालाई खुट्टा वितरण गर्ने गरी नामावली सङ्कलन गरिएको थियो। तर, चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण तथा नापजाँच गर्दा १९ जना मात्र कृत्रिम खुट्टा लगाउन योग्य देखिएकाले उहाँहरूलाई वितरण गरिएको बताउनुभयो। अध्यक्ष अग्रवालले खुट्टा वितरणलगायत अन्य सामाजिक सेवाका कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा श्री पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडियाले मारवाडी सेवा समिति र गौशालाको संयुक्त सहयोगमा हालसम्म देशभरका ७ हजारभन्दा बढी व्यक्तिहरूलाई कृत्रिम खुट्टा वितरण गरिसकिएको जानकारी गराउनुभयो। काठमाडौँमा प्रत्येक महिनाको दोस्रो शनिवार निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने गरिएको जानकारी दिँदै उहाँले आवश्यक परेका व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गर्नुभयो। गौशालाले गौसेवासँगै काठमाडौँ आउने यात्रीहरूका लागि न्यून शुल्कमा अल्पकालीन आवास तथा भोजनको सुविधासमेत उपलब्ध गराउँदै आएको उहाँले उल्लेख गर्नुभयो।

सो अवसरमा मारवाडी सेवा समितिका कार्यकारिणी सदस्य अशोक पेडिवाल, मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनिल साह, हरि सत्सङ्ग समिति कोशी प्रदेशका अध्यक्ष महेश साह स्वर्णकार, विराट व्यापार सङ्घका अध्यक्ष प्रमोद जिन्दल, विश्व हिन्दू परिषद् कोशीका अध्यक्ष देवेन्द्र गुप्ता, मोरङ इलेक्ट्रिक सङ्घका अध्यक्ष कैलाश विश्वास तथा निवर्तमान अध्यक्ष किसन लोहियालगायत प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबरहरु