विराटनगर। विराटनगर-९ स्थित सोम्स कलेजमा अध्ययनरत विद्यार्थी राहुल साहले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित एसिसिए (ACCA) परीक्षामा विश्वमै उत्कृष्ट (वर्ल्ड टप) नतिजा हासिल गर्न सफल भएका छन्।

सुनसरीको इनरुवा-३ स्थायी घर भएका साहले अक्टोबर महिनामा ब्रिटिश काउन्सिलद्वारा आयोजित साढे तीन वर्षे एसिसिए (ACCA) कोर्ष अन्तर्गत पहिलो वर्षको ‘नलेज लेभल’ मा पर्ने ‘फाइनान्सियल एकाउन्टिङ’ विषयको परीक्षामा १०० मा १०० अङ्क ल्याएर विश्व टपर बनेका हुन्। विश्वका १८० भन्दा बढी देशहरूमा अध्ययन-अध्यापन र परीक्षा सञ्चालन हुने एसिसिएमा शतप्रतिशत अङ्क ल्याउनुलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ।

विश्व टप नतिजा ल्याउन सफल भएपछि कलेज परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थी साहलाई सम्मान गरिएको छ। कार्यक्रममा कलेजका प्रिन्सिपल रोशन घिमिरेले साहलाई खादा तथा माल्यार्पण गरी सम्मान पत्रसहित बधाई ज्ञापन गर्नुभएको थियो।

आफ्नो ऐतिहासिक सफलताबारे प्रतिक्रिया दिँदै साहले नियमित मेहनत गर्दै जाँदा अपेक्षाभन्दा पनि राम्रो नतिजा हासिल गर्न सफल भएको बताए। उनले भने, “मेहनत र लगनशीलताका साथ अध्ययन गरिरहेको थिएँ, तर नतिजा यति उत्कृष्ट आउला र विश्वमै शीर्ष स्थान हासिल गरिएला भन्ने सोचेको थिएन।”

सोम्स कलेज सन् २०१९ मा युके बोर्डको सम्बन्धन प्राप्त गरी काठमाडौँ बाहिर पहिलोपटक एसिसिए अध्यापन गराउने कलेज हो। विगत ८ वर्षदेखि काठमाडौँ बाहिर आफ्नै परीक्षा केन्द्रसहित एसिसिए अध्यापन गराउँदै आएको कलेजले आफूलाई देशको मात्र नभई अन्तर्राष्ट्रिय स्तरकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ।

सम्बन्धित खबरहरु