कटहरी गाउँपालिका–१ का बासिन्दालाई अति न्यून मूल्यमा सुधारिएको चुल्हो वितरण गरिएको छ ।
स्थानीय बासिन्दा र गृहिणीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर धुवाँरहित सुधारिएको चुल्हो वितरण गरिएको हो । कटहरी–१ वडा कार्यालय परिसरमा सोमबार आयोजित कार्यक्रमबीच गाउँपालिका अध्यक्ष देवराज चौधरी र वडाध्यक्ष हरिनारायण राजवंशीले स्थानीयलाई चुल्हो वितरण गर्नुभयो ।
दाउरा र बिजुली दुवैको प्रयोगबाट चल्ने सुधारिएको चुल्होबाट अति न्यून धुवाँ उत्पन्न हुने हुँदा गृहिणीहरूको स्वास्थ्य अनुकूल हुने वडाध्यक्ष राजवंशीले बताउनुभयो । कार्यक्रमबीच एउटा चुल्होको २८० रुपैयाँ मूल्य लिएर ५९ परिवारलाई चुल्हो वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सुधारिएको चुल्हो मकैको खोस्टा, दाउराका टुक्रा, ब्रिकेट तथा बिजुलीको प्रयोगबाट चल्ने जनाइएको छ ।
पाँच हजार ५३७ रुपैयाँ मूल्य पर्ने नेपालमै उत्पादित सुधारिएको चुल्होमा हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कटहरी गाउँपालिकाले अनुदान दिएका छन् । कोष र प्रवर्द्धन केन्द्रले मूल्यको ४०–४० प्रतिशत, गाउँपालिकाले १५ प्रतिशत अनुदान दिएका छन् भने चुल्हो प्राप्त गर्ने उपभोक्ताले ५ प्रतिशत मूल्य भुक्तान गरेका छन् ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले पालिकावासीको स्वास्थ्य र इन्धन बचतको उद्देश्यसहित सुधारिएको चुल्हो वितरण गरिएको बताउनुभयो । उहाँले कटहरी–१ बाट सुधारिएको चुल्हो वितरण सुरु गरिएको र अन्य वडाहरूमा समेत वितरण गरिने बताउनुभयो । सुधारिएकोसहित इन्डक्सन चुल्हो समेत गरी पालिकाका झन्डै ६ सय परिवारलाई चुल्हो वितरण गरिने उहाँले जानकारी दिनुभयो ।




