विराटनगर । विराटनगर–२ स्थित श्रृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३०औँ वार्षिकोत्सव तथा साधारणसभा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ ।
मुनालपथस्थित आफ्नै परिसरमा संस्थाका अध्यक्ष निवास पोखरेलको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य बद्रीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

वार्षिक नीति, कार्यक्रम तथा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले ऋण लगानी र ब्याज असुलीमा देखिएको प्रतिकूल अवस्थाका कारण सहकारी क्षेत्रले विविध चुनौती झेल्नुपरेको बताउनुभयो । यद्यपि संस्था विधिसम्मत रूपमा लक्ष्य उन्मुख भएर अघि बढिरहेको उहाँको भनाइ थियो ।

लेखा संयोजक अच्युत भट्टराईका अनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाले शेयर सदस्यहरूलाई १०.७५ प्रतिशत मुनाफा वितरण गरेको छ । उक्त आवमा संस्थाको बचत १० करोड ८६ लाख ८६ हजार रुपैयाँभन्दा बढी र ऋण लगानी ११ करोड २८ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

संस्थाका उपाध्यक्ष डम्बरबहादुर कार्कीले सहकारी क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्या देखिएको उल्लेख गर्दै संस्थालाई सही मार्गमा डो¥याउन र विधिसम्मत सञ्चालन गर्न सबै सदस्य जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले निष्क्रिय सदस्य हटाउने सरकारी निर्देशनअनुसार संस्थाले आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा असल बचतकर्ताका रूपमा शेयर सदस्य सुशीला अधिकारी र चन्द्रप्रसाद अधिकारी तथा असल ऋणीका रूपमा लाछो मुडियारी र लिलाबहादुर लिम्बूलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी शेयर सदस्यका सन्ततिमध्ये पोखरिया माविबाट कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने निर्मला भण्डारी सापकोटाका छोरा प्रनिश सापकोटालाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको लेखापाल प्रकाश सापकोटाले जानकारी दिनुभयो । सम्मानित तथा पुरस्कृत सबैलाई अध्यक्ष पोखरेल र प्रमुख अतिथि भट्टराईले सम्मान प्रदान गर्नुभएको थियो ।

२०५३ पुस १६ गते स्थापना भएको यस सहकारीमा हाल १ हजार ३९१ शेयर सदस्य आबद्ध छन् । जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले घरजग्गा धितोमा कर्जा प्रवाह गर्दै आएको छ ।

साधारणसभाकै अवसरमा संस्थामा लामो समय कार्यरत फिल्ड कर्मचारी झसनाथ दाहाललाई औषधोपचार खर्चबापत ३० हजार रुपैयाँ नगदसहित बिदाइ गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव लीलानाथ गौतमले गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु