नेपाली काँग्रेसलाई बलियो र सुदृढ बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ। मोरङको ग्रामथान गाउँपालिकामा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन्।

नेपाली काँग्रेस, ग्रामथान वडा नम्बर १ कार्यसमितिले बडादसैँ, कोजाग्रत पूर्णिमा, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै वडा सभापति निर्मलकुमार चौधरीले पार्टीका सबै तहका नेता-कार्यकर्ता एकढिक्का भएर अघि बढे मात्र काँग्रेसले आफ्नो पुरानो साख फर्काउन सक्ने बताउनुभयो। उहाँले आगामी स्थानीय तहको निर्वाचन समेत नजिकिँदै गएकाले अहिलेदेखि नै तयारीमा जुट्न आग्रह गर्नुभयो।

कार्यक्रममा काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमहामन्त्री गुरुराज घिमिरे र मोरङ जिल्ला कार्यवाहक सभापति भक्तिनाथ माझीले मुलुकका विभिन्न प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेको काँग्रेसलाई पुनः पहिलो पार्टीका रूपमा स्थापित गर्न सबै गम्भीर हुनुपर्ने बताउनुभयो।

यस्तै, ग्रामथान गाउँपालिका सभापति एवम् वडा नं. १ का वडाध्यक्ष सुरेशकुमार माझीले महाधिवेशनमा प्यानलगत रूपमा जो जिते पनि अन्त्यमा नेपाली काँग्रेसकै जित भएको उल्लेख गर्दै आन्तरिक विभेद बिर्सेर पार्टी सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभयो। उहाँले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन तल्लो तहबाटै सङ्गठन निर्माणका काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी, अगुवा कार्यकर्ता राजेश माझीले महाधिवेशनका क्रममा देखिएका अन्तरविरोध र असमझदारीलाई बिर्सेर पार्टीको बृहत्तर हितका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा क्षेत्र नम्बर ४ का प्रदेश सभापति दुखाराम भगत थारु, महाधिवेशन प्रतिनिधिहरू कविता सरदार र जयमाला सरदार थारु लगायतले मन्तव्य राख्दै कार्यकर्तालाई गोलबद्ध गर्दै पार्टीलाई नयाँ गति दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

सम्बन्धित खबरहरु