कटहरी गाउँपालिकाका गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषिलो आहारसहित पोषण भत्ता वितरण गरिएको छ ।

कटहरी–६ स्थित बर्थिङ सेन्टरमा मङ्गलबार आयोजित कार्यक्रमबिच ३० जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषिलो खीर, डस्टबिन र पोषण भत्ता उपलब्ध गराइएको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी र कटहरी–६ का वडाध्यक्ष बिशो सरदारले लाभग्राहीलाई ती सामग्री वितरण गर्नुभयो ।

कार्यक्रममा ७ जना महिलाहरूलाई जनही ५ हजार र ११ जनालाई जनही १ हजार ८ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराइएको थियो । त्यस्तै, १२ जना गर्भवती तथा सुत्केरी महिलालाई साढे २ केजीका दरले खीर बनाउन मिल्ने पौष्टिक आहार र एक–एक थान डस्टबिन प्रदान गरिएको थियो ।

गाउँपालिकाले सञ्चालन गरेको बर्थिङ सेन्टरमा तोकिएको मापदण्डअनुसार गर्भजाँच र सुत्केरी सेवा लिने महिलाहरूलाई सेवाको प्रकारका आधारमा पालिका तथा सङ्घीय सरकारले दिने भत्तासमेत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताउनुभयो ।

पालिकवासीको सहजताका लागि गाउँपालिकाभित्रै गर्भवती जाँच, ल्याब सेवा तथा गुणस्तरीय प्रसूति सेवा सञ्चालन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । आमा र शिशुको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित विभिन्न शीर्षकमा भत्ताको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

सम्बन्धित खबरहरु