टिभिएस मोटर कम्पनीको नेपालकालागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा लि ले विराटनगरमा बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर ‘टिभिएस अर्बिटर’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
विराटनगरको पिपलचोकस्थित टिभिएसको आधिकारिक बिक्रेता प्रस्वनाथ डेभलपर्स शोरुमा परिसरमा सो स्कुटर लन्च गरिएको हो । शोरुम संचालक प्रशान्त तातेडले नयाँ मोडलको उक्त स्कुटर सार्वजनिक गर्नुभयो । सहरी दैनिक यात्रालाई दिगो, प्रविधिमैत्री र सहज बनाउने उद्देश्यका साथ नेपाली बजारमा भित्र्याईएको यो स्कुटरको प्रारम्भिक परिचयात्मक मूल्य रु २,८१,९०० निर्धारण गरिएको छ ।
टिभिएस अर्बिटरमा नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी क्षेत्रमै पहिलो पटक १४ इन्चको अगाडिको पाङ्ग्रा (फ्रन्ट ह्विल) प्रयोग गरिएको छ, जसले असमान सडकमा पनि सवारी चलाउँदा उत्कृष्ट स्थिरता, नियन्त्रण र सहजता प्रदान गर्ने जगदम्बा मोटर्सका रिजनल म्यानेजर अर्जुन खनालले जानकारी दिनुभयो । यो स्कुटरमा ३.१ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ, जसले एक पटकको फुल चार्जमा १ सय ५८ किलोमिटरसम्मको प्रभावशाली आइडिसी रेन्ज दिने जनाईएको छ ।
यस्तै रेन्ज सुधार र सुरक्षाका लागि रिजेनेरेटिभ ब्रेकिङ प्रविधिसहित इको र सिटी ँगरी दुई राइडिङ मोडहरू उपलब्ध रहेको जनाईएको छ । स्कुटरमा आधुनिक डिजाइन र उपयोगितालाई विशेष ध्यान दिइएको छ । यसमा ८४५ मिमि लामो सिट, २९० मिमि फुटबोर्ड, १६९ मिमि ग्राउन्ड क्लियरेन्स र दुईवटा हेल्मेट सजिलै अट्ने ३४ लिटर क्षमताको विशाल बुट स्पेस रहेको कम्पनीले जनाएको छ ।
साथै, भाइजरसहितको फ्रन्ट एलइडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प, युएसबी २.० चार्जिङ पोर्ट र कल तथा एसएमएस अलर्ट देखाउने कलर एलसिडी कनेक्टेड क्लस्टर समावेश छ । सुरक्षा र प्रविधिका हिसाबले यसमा कनेक्टेड मोबाइल एप, दुर्घटना तथा ढलेको अलर्ट, जियो–फेन्सिङ, टाइम–फेन्सिङ, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल, टर्न–बाय–टर्न नेभिगेसन र ओभर–द–एयर अपडेट जस्ता अत्याधुनिक सुविधाहरू रहेको जनाईएको छ । यो स्कुटर नियोन सनबस्र्ट, कस्मिक टाइटानियम र मर्सियन कपर गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।
सार्वजनिक कार्यक्रममा जगदम्बा मोटर्सका प्रतिनिधिहरूले नेपाली सडक र वातावरण अनुकूल परीक्षण गरिएको यो स्कुटरले विद्युतीय मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गर्ने र देशव्यापी बलियो बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।



