विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई अन्तरमन्त्रालयगत मुद्दा बनाउने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेशको आयोजनामा विराटनगरस्थित एक निजी पार्टी प्यालेसमा दुईदिने ‘न्यायमा पहुँचसहित क्षमता विकास कार्यक्रम’ सम्पन्न भएको छ।
पहिलो दिन आयोजित न्यायमा पहुँचसम्बन्धी कार्यक्रममा मोरङका १७ वटै स्थानीय तहका न्यायिक निकायका संयोजक तथा प्रादेशिक न्यायिक निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसैगरी दोस्रो दिनको अपाङ्गता समावेशी विकास कार्यक्रममा प्रदेशका १३ वटा प्रादेशिक कार्यालयका दुई-दुई जना प्रतिनिधि, मुख्यमन्त्री कार्यालय, ९ वटा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रदेश योजना आयोग, राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश लगानी प्राधिकरण तथा विराटनगर महानगरपालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई अधिवक्ता राजु बस्नेतले अपाङ्गता समावेशी विकासको अवधारणा, अपाङ्गताका प्रकार, विकासक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले अपाङ्गता अधिकार ऐनसम्बन्धी कार्यहरू अघि बढाइएको जानकारी दिँदै सो ऐन छिट्टै ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य सपना परियार लगायतले अपाङ्गताका सवालमा आफ्ना धारणा राख्नुभएको थियो। यस्तै, राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेशका अध्यक्ष नवीनचन्द्र ढुङ्गेलले यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूका मुद्दालाई अन्तरमन्त्रालयगत बनाउन सहज हुने बताउनुभयो।
उहाँले सम्बन्धित मन्त्रालयका जिम्मेवार व्यक्तिहरू अपाङ्गताका सवालमा जानकार बनेकाले अब सबै मन्त्रालयहरूलाई आवश्यकता अनुसार बजेट विनियोजन गर्नसमेत सहज हुने विश्वास व्यक्त गर्नुभयो।




