विराटनगरमा भगवान शिवको पार्थिव शिव पुजन आयोजना गरिएको छ । यस पुजालाई लखराम पुजा पनि भनिन्छ ।
यस पुजामा मुछिएको माटोबाट शिवलिङ बनाएर पुजा गरिन्छ । माटो मुछेर एकलाख बढी शिवलिङ बनाई भगवान शिवको बिशेष पुजा आराधना गरिने भएकाले यस पुजालाई लखराम पुजापनि भनिन्छ । विराटनगरस्थित मैथिली सेवा समितिले देवकोटा चोकस्थित बनसखण्डी महादेव मन्दिर परिसरमा पुजा आयोजना गरेको हो ।
समितिले विगत १७ बर्षदेखि उक्त मन्दिरमा निरन्तर पार्थिव शिव पुजा आयोजना गर्दै आएको आयोजक समितिका महासचिव मृत्यूञ्जय मिश्रले बताउनुभयो । उहाँले मन्दिर परिसरमैं पार्थिव शिव लिङ बनाइएको तथा कतिपय श्रद्धालुले आ–आफ्ना घरबाटै समेत माटोको शिव लिङ बनाएर ल्याई मन्दिर परिसरमा पुजा गरिएको उहाँले जानकारी दिनुभयो ।

माटोको शिवलिङ बनाई पुजनगर्दा मनोकांक्षा पुर्ण हुने मान्यता रहेकाले मिथिलाक्षेत्रमा लखराम पुजा भनिने पार्थिव शिव पुजाको ठुलो महत्व रहँदै आएको पुजाका मुल संयोजक डा.योगेन्द्रप्रसाद यादवले बताउनुभयो । यो पुजा सम्पन्नगर्न मैथिल परम्परा अनुसारको धार्मिक अनुष्ठानहरु गर्ने गरिएको समेत उहाँले बताउनुभयो ।
बनसखण्डी मन्दिरमा आयोजना गरिएको पुजामा डा.एस.एन. झा यजमानका साथै १९ जना विद्वान पण्डितहरुले विधिविधान अनुसार पुजा सम्पन्न गराएका छन । पुजनोत्सवको क्रममा रुद्राभिषेक,नवावृति दुर्गा सप्तसति पाठ,कुमारी पुजन,लाखबत्ती प्रज्वलन, हवन तथा आरती सहित प्रसाद वितरण लगायतका धार्मिक कार्यक्रम आयोजना गरिएको मैथिली सेवा समितिका अध्यक्ष डा.एस.एन. झा ले जानकारी दिनुभयो ।
सो अवसरमा मैथिलानी महिलाहरुले मिथिलाक्षेत्रमा भगवान शिवको आराधनागर्दा गाईने ‘नचारी’ गित समेत गाएका थिए । भदौ ५ गते शनिवार बिहानबाट शुरु भएको लखराम पुजा साँझ अबेर सम्पन्न भएको थियो ।






