विराटनगर महानगरपालिकामा नेपालकै सबैभन्दा ठूलो काँवर यात्राको तयारी पूरा भएको छ

विराटनगर–८, मधुमारा थानगाछीस्थित बटकेश्वर महादेव मन्दिरबाट साउन १८ गते सोमबार ‘महाकाँवर यात्रा’ आयोजना गर्न लागिएको हो । सो अवसरका लागि ४१ फिट लामो विशाल काँवर निर्माण गरिएको छ । भगवती थान,बटकेश्वर महादेव मन्दिर परिवारको आयोजनामा हुन लागेको यो काँवर यात्रा आठौँ संस्करण हो । महाकाँवर आयोजक समितिले पत्रकार सम्मेलन गरी सो बिषयमा विस्तृत जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महाकाँवर यात्रा आयोजक समितिका संयोजक राघव सहनीले २०७६ सालमा २६ फिट लामो बाँसको काँवरबाट सुरु गरिएको यो यात्रालाई हरेक वर्ष विस्तार गर्दै लगिएको बताउनुभयो । उहाँका अनुसार यसपटकको ४१ फिट लामो महाकाँवरमा १ सय लिटर पवित्र जल राखिनेछ र उक्त काँवरलाई ३६ जना भक्तजनले एकैपटक काँधमा बोकेर नगर परिक्रमा गराउने कार्यक्रम छ ।

काँवर यात्रामा सहभागी भक्तजनहरूले विराटनगर आसपासका सिंघिया, केसलिया, बुढीगंगा र लोहन्द्रा नदीबाट ल्याएको पवित्र जल बटकेश्वर महादेव मन्दिरमा संकलन गर्नेछन् । धार्मिक विधिअनुसार उक्त जल शुद्धीकरण गरिसकेपछि सोमबार बिहान ९ बजेदेखि यात्रा प्रारम्भ हुनेछ ।

महाकाँवर यात्राको उद्घाटन कोशी प्रदेश सरकारका वन तथा पर्यटन मन्त्री भीम पराजुलीले गर्ने कार्यक्रम रहेको छ । बटकेश्वर महादेव मन्दिरबाट सुरु हुने यात्रा पञ्चमुखी हनुमान मन्दिर र तीनपैनी हुँदै बरगाछीस्थित बासुकीनाथ मन्दिर पुगेर टुंगिनेछ । त्यहाँ भगवान शिवलाई पवित्र जल अर्पण (जलाभिषेक) गरिनेछ भने तत्पश्चात् महाप्रसाद वितरण गरिनेछ । धार्मिक आस्था, सामाजिक सद्भाव, सनातन संस्कृति तथा हिन्दू धर्मको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष यो यात्रा आयोजना हुँदै आएको छ ।

विराटनगरको यो महाकाँवर यात्रा नेपालकै सबैभन्दा ठूलो काँवर यात्राको रूपमा स्थापित भइसकेको आयोजक समितिको दाबी छ।

सम्बन्धित खबरहरु