विराटनगरमा नेपालकै सबैभन्दा ठूलो मानिएको आठौँ संस्करणको ‘महाकाँवर यात्रा’ भव्य रूपमा सम्पन्न भएको छ ।
भगवती थान, बटकेश्वर महादेव मन्दिर परिवारको आयोजनामा साउने सोमबारको अवसर पारेर सो यात्रा निकालिएको हो । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले महाकाँवर यात्राको उद्घाटन गर्नुभयो । विराटनगर–८, मधुमारा थानगाछीस्थित बटकेश्वर महादेव मन्दिरबाट ‘बोलबम’को जयकाराका साथ सुरु भएको यात्रा पञ्चमुखी हनुमान मन्दिर र तीनपैनी हुँदै बरगाछीस्थित बासुकीनाथ धाम पुगेर टुंगिएको थियो ।
झण्डै चार किलोमिटरको नगर परिक्रमापछि काँवरमा ल्याइएको जल बासुकीनाथ मन्दिरमा भगवान शिवलाई अर्पण (जलाभिषेक) गरी महाप्रसाद वितरण गरिएको थियो । २०७६ सालमा २६ फिट लामो बाँसको काँवरबाट सुरु गरिएको यो यात्रालाई हरेक वर्ष विस्तार गर्ने क्रममा यसपटक ४१ फिट लामो विशाल काँवर निर्माण गरिएको थियो।
महाकाँवर यात्रा आयोजक समितिका संयोजक राघव सहनीका अनुसार धार्मिक विधिअनुसार शुद्धीकरण गरिएको १०० लिटर पवित्र जल राखिएको उक्त विशाल काँवरलाई ३६ जना भक्तजनहरूले एकैसाथ काँधमा बोकेका थिए । काँवरका लागि विराटनगर आसपासका पवित्र नदीहरू सिंघिया, केसलिया, बुढीगंगा र लोहन्द्राबाट जल संकलन गरिएको थियो ।
धार्मिक आस्था, सामाजिक सद्भाव, सनातन संस्कृति तथा हिन्दू धर्मको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको यो यात्रा नेपालकै सबैभन्दा ठूलो काँवर यात्राको रूपमा स्थापित भएको छ ।
महाकाँवर यात्रामा धार्मिक संस्था ईस्कोन सहित,विभिन्न सनातनी संघसंस्थाको साथै हजारौं धर्मावलम्बीहरुको सहभागिता थियो ।



