विराटनगर। विराटनगर–१ स्थित प्रसिद्ध श्रीराधाकृष्ण मन्दिर समितिको आयोजनामा धार्मिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाका अवसरमा यस वर्ष आयोजना हुने ९५ औँ संस्करणको ऐतिहासिक श्रीकृष्ण रथयात्रालाई भव्य रूपमा सम्पन्न गर्न मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा १ हजार १ सदस्यीय मूल समारोह समिति र त्यस मातहत रहने गरी विभिन्न १६ वटा उपसमितिका संयोजक तथा सहसंयोजकहरूको चयन घोषणा गरिएको छ।

यस वर्ष आगामी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी परेको छ भने त्यसको भोलिपल्ट भदौ २० गते (२०८३ साल) विराटनगरमा एसियाकै दोस्रो ठूलो मानिने श्रीराधाकृष्ण रथयात्रा निकालिनेछ। उक्त रथयात्राले महानगरको ८ किलोमिटरको दूरी तय गर्नेछ।

कार्यक्रममा मन्दिर समितिका सभापति कैलाश रेग्मीले समिति र उपसमितिहरूको घोषणा गर्दै यसै वर्षदेखि नयाँ मन्दिर निर्माणको गुरुयोजना (मास्टर प्लान) तयार पारिने जानकारी गराउनुभयो।

default

मन्दिर समितिका सचिव कृष्णबहादुर कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ९५ औँ रथयात्राको महत्त्वमाथि प्रकाश पार्नुभयो। साथै, सोही अवसरमा छात्रवृत्तिसहितका विभिन्न पुरस्कारहरू प्रदान गरिने र हाल २,१०० स्क्वायर फिटमा ५ तले अत्याधुनिक सामुदायिक भवन निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो।

त्यसैगरी, कोषाध्यक्ष नरेश राठीले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मन्दिर व्यवस्थापन समितिका पूर्व सहसंयोजक स्वर्गीय लिलानाथ बरालको स्मृतिमा उहाँकी धर्मपत्नी विश्व मञ्जरी बरालले मन्दिरका तर्फबाट पुरस्कार प्रदान गर्ने गरी अक्षयकोषमा ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका संयोजक दामोदर प्रसाद घिमिरेले रथयात्रा भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेत, उपसभापति नन्दकिशोर राठी, व्यवस्थापन समिति सदस्य पुनम गुप्ता, रथयात्राका मुख्य सारथि पण्डित भवानी शंकर निरौला लगायत सहभागी वक्ताहरूले यो ऐतिहासिक सांस्कृतिक पर्वलाई सफल बनाउन सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

सम्बन्धित खबरहरु