विगत तीन दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय विराटनगरका वरिष्ठ पत्रकार पुष्पराज थपलिया ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ।
प्रेस चौतारी नेपाल मोरङ कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको विशेष समारोहका बिच प्रमुख अतिथि एवं कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले थपलियालाई नगद १५ हजार ५ सय ५० रुपैयाँ र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो।
लामो समयदेखि पत्रकारिता क्षेत्रमार्फत समाज र राष्ट्रलाई पुर्याउनुभएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै थपलियालाई सम्मान गरिएको प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाले जानकारी दिनुभयो।
संकटका बेला पत्रकारको भूमिका जिम्मेवार : मन्त्री लिङ्थेप
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले पछिल्लो समय मुलुकमा निम्तिएको जटिल एवं संवेदनशील अवस्थामा सञ्चारकर्मीहरूले अत्यन्तै जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
मन्त्री लिङ्थेपले देशको असहज परिस्थितिलाई सामान्य बनाउन र समाजमा आपसी सद्भाव कायम राख्न प्रदेश सरकार निरन्तर क्रियाशील रहेको स्पष्ट पार्नुभयो। सञ्चारकर्मीहरूले सत्य-तथ्य र जिम्मेवार समाचार सम्प्रेषण गरेकै कारण वातावरण सुधारोन्मुख हुँदै गएको भन्दै उहाँले विद्यमान समस्याहरूको छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो।






