ग्रामथान । मोरङको ग्रामथान गाउँपालिकाले आगामी आर्थिक बर्षकालागि ५६ करोड बढीको बजेट ल्याएको छ ।
सो गाउँपालिकाले आईतबार १३ औं गाउँसभा आयोजनागर्दै आर्थिकवर्ष २०८०⁄८१ का लागि ५६ करोड ७६ लाख १० हजार ९ सय ६१ रुपैयाँको बजेट ल्याएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ग्रामथान गाउँसभाको उद्घाटन गर्नुभयो । गाउँसभाकाबीच ग्रामथानका उपाध्यक्ष गुनावतीदेवी थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो ।
प्रस्तुत बजेटमा चालु तर्फ ३५ प्रतिशत अर्थात १९ करोड ८६ लाख ६३ हजार ८३६ रुपैयाँ र पुजिगततर्फ ६५ प्रतिशत अर्थात ३६ करोड ८९ लाख ४७ हजार १२५ रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको आम्दानीतर्फ संघीय समानिकरण अनुदान ११ करोड ७० लाख, संघीय सशर्त अनुदान ३० करोड नौ लाख रुपैयाँ, संघीय विशेष अनुदान ६० लाख र संघीय समपूरक अनुदान ८५ लाख रहेको छ ।
यसैगरि संघीय राजस्व बाँडफाँड आयकर अन्तशुल्क ८ करोड ३९ लाख ९३ हजार ८ सय, प्रदेश समानिकरण अनुदान ७३ लाख १४ हजार, प्रदेश सशर्त अनुदान ४१ लाख २५ हजार, प्रदेश सरकार समपूरक अनुदान ९७ लाख ४८ हजार, सवारी साधन कर ४१ लाख ९१ हजार र घरजग्गा रजिस्ट्रेसन शुल्क ६० लाख रहेको छ । यस्तै आन्तरिक श्रोतबाट ६२ लाख ९१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
व्ययतर्फ पूर्वाधार विकासमा ११ करोड ३५ लाख, स्वास्थ्यमा ५० लाख, शिक्षामा १ करोड १४ लाख, पशुपंक्षिमा ५० लाख, कृषिमा ४० लाख, सहकारिमा २ लाख ५० हजार, सामाजिक विकासमा १० लाख रुपैयाँ बजेट बिनयोजन गरिएको छ । कार्यक्रमकैबीच गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष जय प्रकाश गच्छदारले पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्य लाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
सो अवसरमा बोल्नुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले विकाश निर्माणमा राजनिति गर्न नहुने बताउभयो । उहाँले सिमित साधनश्रोतलाई सदुपयोगर्दै विकास निर्माणको काम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विकास निर्माण जनताको साझा सरोकारको बिषय रहेको बताउनुहुँदै विकास निर्माणमा राजनितिगर्ने परिपाटि अन्त गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमकाबीच ग्रामथानमा कार्यरत ५ जना कर्मचारीलाई १० हजार नगद सहित पुरस्कृत गरिएको थियो । । पुरस्कृतहुने कर्मचारीहरुमा प्रशासन अधिकृत टेकनाथ घिमिरे,सूचना अधिकृत नारायण चौधरी, ५ नम्बर वडाका सचिव युवराज बास्तोला र कार्यालय सहयोगिद्वय जितनारायण माझी तथा सविता विश्वास रहेको ग्रामथानका प्रमुख प्रशासकिय अधिकृत मनोजकुमार साहले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री मोदी र गाउँपालिका अध्यक्ष गच्छदारले उहाँहरुलाई कदरपत्र तथा नगद सहित पुरस्कृत गर्नुभयो ।