कटहरी । तुलसी खेतीगर्ने कृषकलाई कटहरी गाउँपालिकाले अनुदान दिने भएको छ ।

तुलसी खेतीप्रति आर्षकण बढाउने उद्देश्यले अनुदान कार्यक्रम ल्याएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले असार ७ गते पारित गरेको आर्थिक वर्ष २०८०-०८१ बजेटमा तुलसी खेतीगर्ने किसानलाई अनुदान दिन बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले तुलसी खेतीगर्ने किसानहरुलाई प्रति कट्ठा ३ हजारका दरले अनुदान दिने भएको छ । त्यसकालागि गाउँपालिकाले २ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पहिलो चरणमा कटहरी गाउँपालिकाको वडानम्बर ५ मा पाईलट प्राजेक्टकोरुपमा तुलसी खेती प्रर्बधनात्मक कार्यक्रम संचालन हुने जनाइएको छ । सोहि वडामा रहेको आर्युवैदिक औषधि उद्योगले कच्चा पदार्थकोरुपमा प्रयोगगर्ने तुलसी भारतबाट आयात गरिरहेको छ । दुईवर्ष अगाडी कटहरीमा उक्त आयुर्वेदिक उद्योग स्थापना भएको थियो । सो उद्योगले बर्षेनी करोडौं मुल्यको तुलसी भारतबाट आयात गर्ने गरेको छ ।

उत्पादित तुलसी वडाभित्रैको उद्योगमा खपत हुने भएकाले कृषिक्षेत्रमा नयाँ कार्यक्रमकोरुपमा तुलसी खेती प्रर्बधनात्मक कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताउनुभयो । यस कार्यक्रमले उद्योग र किसान दुवैलाई फाईदा पुग्ने तथा आगामी दिनहरुमा पालिकाका अन्य वडाहरुमा समेत तुलसी खेतीलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो । बर्षदिनमा तुलसीको ४ बाली उत्पादन गर्न सकिने जनाईएको छ ।

तुलसीको खेतीबाट दुई प्रकारका उत्पादन गर्न सकिन्छ पहिलो बिउ र दोस्रो पात । यसको बीज उत्पादन गरेर बिक्री गर्न सकिन्छ साथै यसको पातबाट तेल निकालेर राम्रो कमाइगर्न सकिन्छ । एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ भने एक हेक्टर क्षेत्रफलबाट लगभग १२० देखि १५० किलोग्रामसम्म तुलसीको बिउ उत्पादन गर्न सकिन्छ । तुलसीको माग बजारमा निकै रहेको पाइन्छ ।

भारत तथा चीनमा समेत निर्यातगरि यसको ब्यापार गर्न सकिन्छ । तुलसीलाई औषधी बनाउनका लागि कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ । तुलसीबाट बनाइएको तुलसी चिया नेपाली बजारमा पनि राम्रो बिक्री हुने गरेको पाइन्छ र विदेशीहरुले पनि यसलाई खुब मनपराउछन । धार्मिक कार्यमा पनि यसको धेरै महत्व छ ।

त्यसकारण यसलाई पूजा सामाग्रीको रुपमा बेच्न सकिन्छ ।

सम्बन्धित खबरहरु