विराटनगर महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ ।

गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनसँगै बिक्रीवितरणमा समेत निषेध गरेको छ ।

सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै महानगरले माइकिङसमेत गरेर सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नगर्न आग्रह गर्दै आएको छ । निर्णय उल्लंघन गरेर बिक्रीतिवरण गर्ने गरेको पाइएपछि महानगरको टोलीले सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ ।

निर्णय कार्यान्वयनका लागि महानगर कडाइ रुपमा प्रस्तुत भएको छ । सोमबार महानगरले ६ वटा शाखा र महाशाखा प्रमुखको नेतृत्वमा टोली परिचालन गरेर अनुगमन गरेको छ । निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न टोली नै परिचालन गरेर अनुगमन गरिएको मेयर नागेश कोइरालाले बताए ।

विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरदेखि एक सय मिटर वरपर भने सुर्तीजन्य ऐनले नै सेवन र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र खुल्ला रुपमा बिक्रीवितरण र सेवन गर्न नपाउने नगरसभाको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगर लागिपरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

टोलीले अनुगमनका क्रममा पसल अगाडि झुण्ड्याएका सुर्तीजन्य पदार्थ जफत गर्नुका साथै अबदेखि खुल्ला रुपमा बिक्रीवितरण नगर्न पसल सञ्चालकहरूलाई आग्रह गरेको थियो ।

सम्बन्धित खबरहरु