कटहरी । मोरङका कोच राजवंशी समुदायले सांस्कृतिक पर्व काद सिरुवा मनाएका छन । उनिहरुले एक अर्कालाई हिलो छ्यापाछ्यापगर्दै बिहीबार सिरुवा मनाएका हुन ।
मोरङका कोच राजवंशी समुदायले नयाँ बर्षको पुर्व सन्ध्यामा प्रत्येकबर्ष हिलो सिरुवा मनाउने गर्छन । यो समुदायले नयाँबर्ष बैशाख १ को पुर्व सन्ध्याबाट तिनदिनसम्म सिरुवा पर्व मनाउछन । सिरुवा सुरुआतको पहिलोदिन काद सिरुवा मनाउने प्रचलन छ । सो अवसरमा मोरङको कटहरी गाउँपालिकास्थित राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रले काद सिरुवा पर्वको आयोजना गरेको हो ।
कार्यक्रम मनाउन भेला भएका समुदायका युवायुवती सहित सबै बर्ग उमेर समुहका ब्यक्तीहरुले एकअर्कालाई हिलो छ्यापाछ्यापगरि काद सिरुवा मनाएका थिए । बिदा हुन लागेको बर्षमा भएका गरेका गल्तीहरुलाई हिलोसंगै पखालेर नया बर्षको स्वागत गर्न काद सिरुवा मनाउने गरिएको बताईएको छ ।
आदिवासी राजवंशी समुदाय प्रकृतिको पुजक रहेकोले समेत हिलो माटोसंग रम्दै काद सिरुवा मनाउने गरिएको राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रका ले बताउनुभयो । तराईका अन्य जिल्लाहरुमा बैशाख १ देखी ३ गतेसम्म सिरुवा मनाउने गरिएपनि मोरङका कोच राजवंशी समुदायले भने चैत ३० बाटै सिरुवा मनाउन शुरु गर्छन ।
सिरुवा आउनुभन्दा १५ दिन अगावैबाट यो पर्वको तयारी शुरु हुने गरेको आयोजक संस्थाका अध्यक्ष परशुराम राजवंशीले जानकारी दिनुभयो । नयाँ बर्ष हरेक हिसाबले शुभ रहोस कामनाका साथ पहिलोदिन काद सिरुवा दोश्रो दिन पानी सिरुवा र तेश्रोदिन रंग सिरुवा मनाउने गरिएको उहाँले बताउनुभयो ।
सिरुवा खेल्ने क्रममा एकअर्कालाई हिलोको टिका लगाई आफु भन्दा ठुलाबाट आर्शिबाद थाप्ने गरिन्छ भने चेलीबेटीलाई माईतमा आमन्त्रण गर्ने चलन समेत रहेको कटहरीकी स्थानिय प्रतिमा राजवंशीले बताउनुभयो । मधेश प्रदेश सहित तराईका जिल्लाहरुमा तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाउने गरिन्छ ।
सिरुवा राजवंशी, ताजपुरिया, गन्गाईं, थारू, माझी, मेचे, उराव, किसान, धिमाल लगायत आदिवासी समुदायले समेत सांस्कृतिक पर्वको रुपमा मनाउँछन ।
सिरुवाको अवसरमा वैशाख १ गतेबाट सुनसरी,मोरङ र झापाका विभिन्न ग्रामीण बस्तीहरुमा पारम्परिक मेला समेत लाग्ने गर्छ ।