विराटनगर । मिस्टर एण्ड मिस विराट राजवंशीको अडिशन चरण पार गरेका प्रतिस्पर्धिलाई सहभागि गराएर अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
विराटनगर–५ स्थित राधाकृष्ण धर्मशाला परिसरमा शनिवार अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा आयोजक विराट राजवंशी प्रगतिशील विकास समाज समितिका अध्यक्ष किरण राजवंशी र पत्रकार नवीन कर्णले प्रतिस्पर्धिलाई प्रतियोगिताले समाजमा पार्ने प्रभाव र गरिमाका बिषयमा जानकारी गराउनुभयो ।
फागुन ९ गते विराटनगरमा भएको उक्त प्रतियोगिताको अडिशनबाट ५१ जनाले पहिलो छनौट चरण पार गरि प्रशिक्षण चरणमा प्रवेश गरेका छन । अडिसनबाट ३३ महिला र १८ पुरुषगरि ५१ जनाले पहिलो चरणको अडिसनमा नाम निकाल्न सफल भएका छन । यसैगरि ९ जना महिला प्रस्पर्धिहरुले वैकल्पिकमा नाम निकालेका छन ।

अडिसनबाट महिला तर्फ टप फाईभमा कटहरी १ की सुजिता राजवंशी,विराटनगर ५ की प्रिति राजवंशी, निमा राजवंशी र रेविका राजवंशी तथा कटहरी १ की सुश्मा राजवंशी नाम निकाल्न सफल भएकी छिन । यस्तै पुरुषतर्फ टप फाईभमा बुढीगंगा २ का सुनिल राजवंशी,कटहरी ६ का प्यारेलाल राजवंशी,जहदा ३ का सदानन्द राजवंशी,बुढीगंगा २ का जयकुमार राजवंशी र दुहबी १२ का विवेक राजवंशी छन ।
प्रतियोगिताको अडिसनमा पत्रकार एवम कवि मीनकुमार नवोदित,पत्रकार सन्तोष सिग्देल,पत्रकार नवीन कर्ण,सामाजिक अभियन्ता पंकज बर्मा,पत्रकार वीरेन्द्र साह र ब्यूटिशियन निलु कर्ण तथा आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

पहिलो चरणको छनौट चरण पार गरेका प्रतिस्पर्धिहरुलाई सहभागि गराएर शनिवार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । प्रतियोगितामा अडिसनकालागि १ सय बढीले फर्म भरेकोमा जम्मा ७६ जना अडिसनमा सहभागि भएको आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले जानकारी दिनुभयो ।
अडिसन पास गरेका ५१ जनालाई फाईनल चरणको प्रतिस्पर्धाकालागि एक महिने तालिम दिएर दक्ष बनाईने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल स्पर्धा चैत ३० गते विराटनगरमा आयोजना गरिने जनाईएको छ ।




