विराटनगर । युवाहरुलाई कानुन तथा सार्वजनिक नीति निर्माणमा सहभागि गराउने उद्धेश्य सहित विराटनगरमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

पोखरा रिसर्च सेन्टर र विकल्प एन अल्टरनेटिभ तथा अमेरिकी दुतावासको सहयोगमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । विराटनगरको एक निजी होटलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रदेश एकका ११ जिल्लाका २० देखी ३० बर्ष उमेर समुहका ५० जना युवाहरु सहभागि भएका छन ।

प्रशिक्षणको प्रदेश एकका सभामुख बाबुराम गौतमले उद्घाटन गर्नुभयो । प्रशिक्षणका सहभागि युवालाई संसदीय प्रक्रियाका बारेमा अध्ययन अनुसन्धान,तथ्यांकहरुको बिश्लेषण,नीतिसँग सम्बन्धित मुद्धाहरु बनाउन,छलफल तथा मिडियाका कार्यक्रमकालागि पृष्ठभुमिको अध्ययन तथा निर्वाचन क्षेत्र सम्बन्धि अध्ययन लगायतका बिषयमा विज्ञहरुबाट प्रशिक्षण दिलाउने कार्यक्रम छ ।

सहभागिलाई नीति तथा योजना आयोग प्रदेश एकका पुर्व उपाध्यक्ष सुबोध प्याकुरेल,प्रदेश एक कानुन मन्त्रालयका सचिव उमेश बस्नेत,विकल्पका चेयर पर्सन डाक्टर भेषप्रसाद धमला र सन्देश दास श्रेष्ठ लगायतले प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।

सहभागि युवाले प्रदेश र संघीय सरकारले काम गर्ने तरिका तथा आउने चुनौती लगायतका बिषयमा प्रशिक्षणका क्रममा विज्ञहरुबाट जानकारी पाउने विकल्प एन अल्टरनेटिभ विराटनगरका संस्थापक निर्देशक बसन्त अधिकारीले बताउनुभयो । पहिलो चरणको प्रशिक्षणमा सहभागि भएका ५० मध्ये २५ जना युवालाई दोश्रो चरणकालागि छनौट गरिने आयोजकले जनाएको छ ।

दोश्रो चरणबाट १२ जनालाई छनौटगरि ६ महिने तेश्रो चरणको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसंग ज्ञान सहयोगिकारुपमा ६ महिना काम गर्ने अवसर उपलब्ध गराईने आयोजक पोखरा रिसर्च सेन्टरका संस्थापक कार्यकारी निर्देशक सुजन रेग्मीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु