कटहरी⁄ १३ फिटे बाटो ४० फिटमा बिस्तार हुनेभएपछि कटहरी १ महेशपुरका बासिन्दा उत्साहित भएका छन ।

कटहरी १ मा रहेको कृषि तथा फलफुल थोक बजारबाट उत्तरदक्षिण जमटोकी महेशपुर हुँदै कटहरी ६ र ७ मा पर्ने बबियाबिर्ता सम्म सडक र नाला बिस्तार हुन लागेको हो । यसअघि १३ फिट मात्र कालोपत्रे रहेको सडक ४० फिटमा बिस्तार गर्न लागिएको हो ।

सडक बिस्तार हुने भएपछि छेउछाउका अधिकांश बासिन्दाको जग्गा सडकको मापदण्ड भित्र परेको छ । कटहरी १ का सदरी ठाकुरले आफ्नो ६ फिट जग्गा सडकमा परेपनि सडक बिस्तार हुन लागेकोमा खुशी रहेको प्रतिक्रिया दिनुभयो ।
पहिलो चरणमा उक्त सडकको दुवै किनारमा पक्की नाला निर्माणको काम शुरु भएको छ ।

सडक डिभिजन कार्यालय मार्फत निकालिएको टेण्डर मार्फत सुनसरी गढी ३ को सरोज कन्सट्रक्शनले नाला निर्माणको ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीले २९ लाख ७५ हजार ५२९ रुपैयामा सडकको दुवै तर्फ ४६८ मिटर नाला निर्माणको कार्यादेश पाएको छ । माघ १५ बाट कार्यादेश पाएको उक्त निर्माण कम्पनीले ०७९ अषाढ १५ सम्म निर्माण सक्नुपर्ने सम्झौता छ ।

ग्रामीण क्षेत्रमा समेत बस्तीहरु बिस्तार हुँदै गएर सवारीसाधनको चाप समेत बढेकाले यसअघि निर्माण गरिएको सडक सांघुरो भएको कटहरी १ का वडाध्यक्ष हरिनारायण राजबंशीले बताउनुभयो ।

शुरुमा नाला निर्माण र त्यसपछि सडक बिस्तारको काम शुरु गरिने वडाध्यक्ष राजवंशीको भनाई छ ।

सम्बन्धित खबरहरु