विराटनगर । मानिसहरु शिक्षित भएपनि अधिकांशमा डिजिटल साक्षरताको अभाव रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
डिजिटल साक्षरताकै अभावका कारण ईन्टरनेट प्रयोगकर्तामा विभिन्न प्रकारका समस्या र जटिलता निम्तिएको उनिहरुले बताएका छन । डिजिटल राईट्स नेपालले विराटनगरमा आयोजना गरेको डिजिटल अधिकारका मुद्धा र प्राथमिकता कार्यक्रममा बोल्ने वक्ताहरुले प्रयोगकर्ताहरु पुर्ण जानकार नभएका कारण ब्यक्तिगत तथ्यांकहरु चुहावट तथा चोरी हुने जोखिम बढेको बताएका थिए ।
ईन्टरनेटबाट संचालित सामाजिक संजाल तथा अन्य प्रबिधिको प्रयोगका बिषयमा पुर्ण जानकारी नभएका कारण कतिपय सर्वसाधारण ठगिमा पर्ने गरेको बताउँदै ब्यक्तीगत तथ्यांक चोरी हुने सम्भावना समेत रहने उनहिरुले बताएका थिए । सो अवसरमा बोल्नुहुँदै आयोजक संस्थाका अध्यक्ष सन्तोष सिग्देलले मानिसहरु शिक्षित रहेपनि डिजिटल साक्षरताको अभावमा यस्तो समस्या देखिएको बताउनुभयो ।
उहाँले पछिल्लो तथ्यांक अनुसार नेपालमा ६५ प्रतिशत मानिस ईन्टरनेटको प्रयोग गरिरहेपनि आफ्ना डिजिटल अधिकारका बिषयमा पर्याप्त जानकार नरहेको बताउनुभयो । ब्यक्तीको मानव अधिकारकारुपमा ब्याख्याका गरिएका बिषयहरु नै अनलाईन स्पेसमा पुग्दा डिजिटल अधिकारकारुपमा परिर्वतन हुने गरेको उहाँको भनाई थियो ।
सिग्देलले अध्ययन अध्यापनका साथै आर्थिक र सामाजिक सबै क्षेत्रमा डिजिटल माध्यमको प्रयोग गरिएपनि त्यसअनुरुपको डिजिटल शिक्षालाई प्राथमिकता नदिइएको धारणा राख्नुभयो । डिजिटल राईट्स विराटनगरका अभियन्ता राजु श्रेष्ठले देखासिकी र सामान्य जानकारीकै आधारमा ईन्टरनेटमा उपलब्ध सामाजिक संजाल तथा एप्सहरुको प्रयोग गरिएका कारण कतिपय सर्वसाधारणका तथ्यांक चोरी हुने र ठगिमा पर्ने गरेको बताउनुभयो ।
नीति निर्माण तहबाटै डिजिटल साक्षरतालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताउनुभयो । बैक ब्यवसायिको तर्फबाट बोल्नुहुँदै ईश्वर कट्ट्ेलले प्रबिधि भित्र्याईएपनि सेवाग्राहीलाई सो बिषयमा पर्याप्त जानकारी नभएका कारण समस्या देखिएको बताउनुभयो ।
दि राईजिङ नेपालका पत्रकार मोदनाथ ढकालले डिजिटल राईट्सका बिषयमा सवै बर्ग र तहलाई डिजिटल साक्षर बनाउन तिनै तहका सरकारले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा संचार,सामाजिक र अध्यापन क्षेत्रसंग जोडिएका ब्यक्तीहरुको प्रतिनिधिमुलक सहभागिता थियो ।
आयोजक संस्थाले ७ वटै प्रदेशमा यसप्रकारको कार्यक्रम आयोजना गरिरहेको जनाईएको छ ।