विराटनगर २४ मंसिर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला आफुले उद्घाटन गर्नुपर्ने एक कार्यक्रममा निर्धारित समय भन्दा ४ घण्टा ढिलो पुग्नु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिकारुपमा बिहान १० बजेकालागि बोलाईएका मेयर कोईराला सो कार्यक्रममा दिउँसो २ बजे मात्र पुग्नुभएको थियो । विराटनगर १५ मा शनिवार आयोजना गरिएको सामाजिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा बोलाईएका मेयर कोईराला निर्धारित समय भन्दा ४ घण्टा ढिलो पुग्नु भएको हो । कार्यक्रम उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा बिहान १० बजेका लागि आमन्त्रण गरिएका कोईराला २ बजे मात्र कार्यक्रम स्थलमा पुग्नु भएको थियो ।
आयोजक समितिले बिहान १० बजे कार्यक्रम शुरु गरेर १ बजे समापन गर्ने समय तालिका बनाएपनि कार्यक्रमका प्रमुख अतिथि कोईराला न आईदिएपछि आयोजक समिति समस्यामा परेका थिए । उक्त कार्यक्रममा सहकारीका शेयर सदस्य सहित सर्वसाधारण समेत गरेर ३ सय बढी ब्यक्ती सहभागि भएका थिए ।
समय तालिका अनुसार नै सहभागिहरु कार्यक्रममा पुगेका थिए तर घण्टौ सम्मको पखाईपछि पनि मेयर कोईराला कार्यक्रममा न आईदिएपछि आयोजक समितिले बाध्य भएर उद्घाटन सत्रलाई थाँती राखेर शुभकामना तथा सम्मान कार्यक्रमलाई सुचारु गरेका थिए । सो सहकारीको साधारण सभाकाबीच एक दर्जन बढी ब्यक्तीलाई मेयर कोईरालाको हातबाट सम्मान गर्नुपर्ने तालिका रहेपनि मेयरको उपस्थिति नभएपछि कार्यक्रमका बिशिष्ठ अतिथि नेपाली काँग्रेसका प्रदेश कोषाध्यक्ष राजेश गुप्ताको हातबाट सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम अवधि भर आयोजक संस्थाका अध्यक्ष मित्रलाल गिरीले कयौं पटक मेयर कोईराला र उनका प्रेस सल्लाहकारसंग मोबाईलबाट सम्पर्क गरेका थिए । आफुहरु आईपुग्नै लागेको जानकारी पटकपटक गराएपनि २ बजे मात्र मेयरको टोली कार्यक्रम स्थल पुगेको थियो । त्यतिञ्जेल साधारण सभाको खुला सत्रका सम्पुर्ण कार्यक्रमहरु सकिएको थियो । यद्यपि मेयर आउने सुनिश्चित भएपछि आयोजक समितिले सहभागिहरुलाई अल्माउन स्थानिय कलाकारहरुको नृत्य प्रस्तुती राखेर कार्यक्रमलाई लम्ब्याएको थियो ।
प्रमुख अतिथिबाट ब्यानर अनावरण गरेर कार्यक्रम उद्घाटन गर्ने तालिका रहेपनि प्रमुख अतिथि समयमा नआईदिंदा औपचारिक कार्यक्रम अवधिभर सेतो कपडाले छोपिएको ब्यानर सामु नै कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रमस्थलमा मेयरको आगमन हुनु अघि नै २ सय बढी सहभागि पट्यार लागेर कार्यक्रम स्थलबाट हिंडेका थिए । मेयरको आगमन भएपछि आयोजक समितिको सम्पुर्ण कार्यक्रमहरु सकिएको अवस्थामा संस्थाको ब्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
त्यस लगत्तै मेयर कोईरालाबाट संस्थाका कर्मचारीलाई सम्मानको कार्यक्रम गराईएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोईरालाले अन्य कार्यक्रमहरुमा समेत जानै पर्ने बाध्यता भएकाले निर्र्धारित समयमा आईपुग्न नसकेको दाबी गर्नु भएको थियो । ढिलाई भएको बिषयमा उहाँले आयोजक समिति र सहभागिसंग क्षमायाचना समेत गर्नुभएको थियो ।
शनिवार बिहान देखी उक्त कार्यक्रमसम्म आईपुग्न अघि मेयर कोईराला विभिन्न चार वटा कार्यक्रममा सहभागि हुनुपरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो । मेयर कोईरालालाई प्रमुख अतिथि राखिएको जनता स्कुलमा आयोजित कार्यक्रममा आयोजक समितिले ढिलाई गर्दा सेड्युल बिग्रिएको नवोदितले दाबी गर्नुभयो ।
बिहान १० बजेकालागि आमन्त्रण गरिएका कार्यक्रमका प्रमुख अतिथि मेयर कोईराला निर्धारित समय भन्दा ४ घण्टा ढिलागरि आउँदा आफुले निकै तनाव खेप्नु परेको आयोजक सहकारीका अध्यक्ष गिरिले बताउनुभयो ।