कटहरी गाउँपालिका १ वडानम्बर वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण शुरु भएको छ ।
७२ लाख बढीमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले भवनको शिलान्यास गर्नुभयो । यस अघिदेखी महेशपुरमा रहेको गणेश प्राथमिक विद्यालय परिसरमा वडा कार्यालय संचालन हुँदै आएको थियो ।
गणेश प्राविको नाममा रहेको सोहि जग्गामा नयाँ भवन निर्माण हुन लागेको हो । एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवनको ठेक्का विराटनगर ८ को टोनिका कन्सट्रक्सनले पाएको छ । भवन निर्माणको स्टिमेट रकम १ करोड १८ लाख रहेपनि निर्माण कम्पनीले ३७.११ प्रतिशत बिलो ७२ लाख २० हजार ३ सय ८६ रुपैयामा निर्माणको ठेक्का लिएको छ ।
२१ सय स्क्वायर फिटको सो भवनमा ३ कोठा १ हल र शौचालय कोठा निर्माण हुने जनाईएको छ । मंसिर १५ गते योजना शुरु भएर २०८० जेठ १५ अर्थात ७ महिना भित्र भवनको निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो ।
भवन निर्माणका निम्ति गाउँपालिकाले नै बजेट बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । भवन शिलान्यास कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष चौधरीले कटहरीमा रहेका ७ वडा वडा मध्ये वडानम्बर १ र ६ बाहेक सबै वडाहरुको आफ्नै भवन निर्माण भईसकेको बताउनुभयो ।
वडानम्बर १ मा छिट्टै भवन निर्माण सम्पन्न हुने र ६ नम्बर वडा कार्यालयकालागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । वडानम्बर १ का वडाध्यक्ष राजवंशीले नयाँ कार्यालय भवन निर्माण भएपछि कर्मचारीलाई सेवा प्रवाहगर्न सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो ।