महिला नेतृ बसन्तीदेवी यादवले महिला शसक्तीकरण र बेरोजगार युवाका समस्या समाधानको पहलहेतु आफ्नो उम्मेदवारी दिएको बताउनुभएको छ ।

मोरङ–५ प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दिनुभएकी नेतृ यादव यतिखेर घरदैलोमा ब्यस्त हुनुहुन्छ । शनिवार विराटनगर– १५ को भट्टाचोकका युवाहरुसंग अन्तरक्रिया गर्नुहुँदै उहाँले युवाहरु बिदेशिनुपर्ने बाध्यताको अन्तगर्न आफु लागिपर्ने बताउनुभयो ।

स्वदेशमैं रोजगार र स्वरोजगारको वातावरण बनाएर युवाहरुको दक्षता प्रयोग गर्नसके मात्र मुलुकलाई समृद्ध बनाउन सकिने उहाँले धारणा राख्नुभयो । नेतृ यादवले क्षेत्र नम्बर ५ अन्र्तगतपर्ने ग्रामीणक्षेत्रका महिलाहरु घरेलु हिंसा र विपन्नताका कारण पीडित रहेकाले त्यसक्षेत्रमा समेत आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षा र स्वास्थ्य उपचार लगायतका क्षेत्रमा देखिएका समस्या समाधान गर्न समेत आफुले कामगर्ने उहाँले बताउनुभयो । यसअघि २०७४ को निर्वाचनमा आफु समानुपातिक उम्मेदवारकोरुपमा प्रदेश सभामा प्रतिनिधित्वगर्दा क्षेत्रमा विकास निर्माणका धेरै काम गर्न सफल भएको बताउनुहुँदै नेतृ यादवले थप कामहरु गर्न अवसरदिन मतदाता सामु आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि स्थानिय युवाहरु गुड्डु सिंह,सुमित झा,राजन झा,एम डी अली,अजर खान तथा समाजसेवी शिवु शर्मा सहित ३ दर्जन भन्दा बढी युवाहरुले नेतृ यादवसंग प्रश्नोत्तरी गरेका थिए ।

सम्बन्धित खबरहरु