भगवान चित्रगुप्त पुजामा प्रयोग गरिएको कलम १ लाख ४० हजार मुल्यमा बिक्री भएको छ ।
विराटनगर महानगरपालिकाको वडानम्बर २ तिनपैनीमा कात्तिक १० गते मैथिली विकास अभियानद्वारा आयोजना गरिएको चित्रगुप्त पुजाको क्रममा भगवान चित्रगुप्तको हातमा राखेर पुजा गरिएको चाँदीको कलम १ लाख ४० हजार १ सय १ रुपैयामा बिक्री भएको हो । डाक बढाबढको क्रममा विराटनगर २ तिनपैनीका संजय मल्लिकले भगवानको हातमा राखेर पुजा गरिएकोे कलमको १ लाख ४० हजार बढी बोली लगाएर सो कलम प्राप्त गरेका हुन ।
डाक बढाबढको क्रममा स्थानिय कल्पना दास,प्रजय कर्ण,रिया बर्मा र नन्दन मल्लिक बीच रकम बढाबढको प्रतिस्पर्धा नै चलेको थियो । अन्तमा सबभन्दा बढी बोली लगाएर कलम प्राप्तगर्न सफल मल्लिकलाई विराटनगर महानगरपालिकाका निर्वतमान मेयर भीम पराजुलीले कलम प्राप्तिको प्रमाणपत्र प्रदान गर्नुभयो । यमद्वितिया अर्थात भाईटीकाकादिन कायस्थ समुदायले प्रत्येकबर्ष चित्रगुप्त पुजा आयोजना गर्ने गरेका छन ।
भगवान चित्रगुप्तलाई कलमको देउताकोरुपमा समेत पुजा गर्ने गरिन्छ । मानिसको पाप र पुण्यको लेखाजोखा राख्ने देउताकोरुपमा पुजित ब्रह्मापुत्र चित्रगुप्तलाई कायस्थ समुदायले आदिपुरुष अर्थात आफ्ना बंशपिताको रुपमा पुजापाठ गर्दै आएका छन । कायस्थ समुदायले कलमलाई आफ्नो जीवनयापनको मुख्य औजारकोरुपमा प्रयोग र पुजा गर्दै आएका छन ।
भगवान चित्रगुप्तको हातमा राखेर पुजा गरिएको कलम प्रसादकोरुपमा मानिने भएकाले सो कलम प्राप्तगर्न समुदायका मानिसहरुबीच होडबाजी नै चल्ने गरेको छ । पुजाको दोश्रो दिन चित्रगुप्तको मुर्ति सेलाएपछि उक्त कलम प्राप्तगर्ने आकांक्षीहरु बढदै गएपछि डाक बढाबढबाट कलम प्रदानगर्ने परिपाटि शुरु गरिएको मैथिली विकास अभियानका अध्यक्ष पंकज बर्माले बताउनुभयो । कलमको निलामीबाट प्राप्त हुने रकम भने चित्रगुप्त मन्दिर निर्माणमा खर्च गरिने उहाँले बताउनुभयो ।
बंशपिता चित्रगुप्तको हातमा राखेर पुजा गरिएको कलम प्राप्तगर्न सके फलिफाफ हुने विश्वासका कारण कायस्थ समुदायभित्र उक्त कलम प्राप्तगर्न होडबाजी चल्ने गरेको मैथिली विकास अभियानका कोषाध्यक्ष प्रवीण कर्णले बताउनुभयो । यसअघि २०७८ सालमा पुजामा प्रयोग गरिएको कलम नन्दन मल्लिकले ४५ हजार ५ सय ५ मा र २०७७ सालमा ईन्जीनियर अरबिन्द कर्णले १ लाख ६१ हजार ५ सय ५१ रुपैया डाक बढाबढ बाट कलम प्राप्त गर्नुभएको थियो ।
बर्षभरि कलम चलाउने कायस्थ समुदायले चित्रगुप्त पुजाको एकदिन भने आफ्नो कलमलाई बिराम दिन्छन । यसदिन उनिहरु आफ्नो कलमलाई धोईपखाली श्रद्धापुर्वक पुजा पाठ गर्दै बिराम दिन्छन ।