विराटनगर । थारु महिला सभा मोरङले विभिन्न क्षेत्रमा योगदान दिएका समुदाय भित्रका तीन दर्जन ब्यक्तीलाई सम्मान गरेको छ ।
सभाले आयोजना गरेको जितिया पर्व समारोह बिशेष कार्यक्रमकाबीच विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तीलाई सम्मान गरेको हो । कार्यक्रमकाबीच ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश थारु, बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार र समाजसेवी धिरेन्द्र चौधरी लगायतलाई सम्मान गरिएको थियो ।
सम्मानित ब्यक्तीत्वहरुलाई कदर पत्र,दोसल्ला र फुलमालाले सम्मान गरिएको थारु महिला सभा मोरङकी अध्यक्ष जयमाला सर्दारले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि थारु आयोगकी सदस्य शान्ति मोदी,थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी र मोरङ अध्यक्ष प्रदीपकुमार भगत थारुले सबैजनालाई सम्मान गर्नुभयो ।
सो अवसरमा बोल्नुहुँदै प्राडा एवम् थारु संस्कृतिविद् दुर्गानन्द चौधरीले जितिया थारु समुदायको विशिष्ठ पर्व रहेको बताउनुभयो । सुर्य पुत्र जितवाहनको उपासनागरि यो पर्व तीन दिनसम्म मनाउने प्रचलन रहेको उहाँले बताउनुभयो । पर्वको पहिलो दिन नहाय खाय दोश्रोदिन उपवास र तेश्रो दिन पारण गरेपछि यो पर्व समापन हुने विधान रहेको उहाँले जानकारी दिनुभयो ।
सहभागि अन्य वक्ताले थारु समुदायको संस्कृति,अधिकार र शिक्षा लगायतका बिषयमा बोलेका थिए । सो अवसरमा थारु महिला कलाकारहरुले थारु भाषाको गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागि महिलाहरुले नाचगानगर्दै मनोरंजन गरेका थिए भने अतिथि तथा सहभागिलाई थारु परिकार खुवाईएको थियो ।
कार्यक्रममा थारु हेल्पिङ ह्याण्डसका उपाध्यक्ष राजेश चौधरी र हौली परिवारका पुर्व सभापति सम्पतलाल चौधरी लगायतको सहभागिता थियो ।