विराटनगर । होमियोप्याथिक चिकित्सा विज्ञानलाई आपसी सहकार्यबाट विकास गर्दैलाने प्रतिबद्धता सहित काठमाण्डौमा आयोजना गरिएको दुईदिने ईण्डो–नेपाल साईन्स सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा सहभागि नेपाल तथा भारत दुवै देशका होमियोप्याथिक विज्ञहरुले यो चिकित्सा विज्ञानलाई अघि बढाउँदै लान आपसी सहकार्यमा जोड दिएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा सहभागि हुनुभएका संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले होमियोप्याथि चिकित्सालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । पछिल्लो समय नसर्ने रोगहरुको प्रकोप समेत बढदै गएकाले सस्तो मुल्यमा उपचार हुने यस पद्धतिलाई विकास गर्नुपर्ने बिषयमा उहाँको जोड थियो ।
कार्यक्रममा नेपाल होमियोप्याथिक चिकित्सक संघका अध्यक्ष डा.रबिन्द्र राय,डा.अम्बिका प्रसाद ज्ञवाली र डा.बिष्णु कुवानले होमियोप्याथिक चिकित्सामा भएका नयाँ अनुसन्धान पत्र प्रस्तुत गर्नुभयो । यस्तै भारतका तर्फबाट डा.एमके साहनी सहित विभिन्न १२ वटा कलेजका प्राध्यापक डाक्टरहरुले अनुसन्धान पत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेपाल तथा भारतका ४५० जना चिकित्सक,स्वास्थ्यकर्मी,औषधि विक्रेता,उत्पादक तथा अनुसन्धानकर्मी वैज्ञानिकहरुको सहभागिता थियो । नेपाल होमियोप्याथिक चिकित्सक संघ, अल नेपाल होमियोप्याथिक एसोसिएसन, होमियोप्याथिक मेडिकल एसोसिएसन अफ इन्डिया, होमियोप्याथिक साइन्स काँग्रेस सोसाइटी र जीडी मेमोरियल होमियोप्याथिक मेडिकल कलेज एन्ड हस्पिटल पटनाको सह–आयोजनामा दुईदिने सम्मेलन आयोजना गरिएको थियो ।
काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरमा भदौ २५ र २६ गते दुईदिने सम्मेलन आयोजना गरिएको थियो ।