विराटनगर । आँखाको उपचार सेवामा प्रदेश एककै प्रतिष्ठित विराटनगर आँखा अस्पताल आफ्नो स्थापनाको १६ औं बर्षमा प्रवेश गर्न लागेको छ ।
१६ औं बर्ष प्रवेशको अवसरमा यहि भदौ २८ गते अस्पतालले स्थापना दिवस बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । विक्रमसम्बत २०६३ भदौ २८ का दिन विराटनगर आँखा अस्पतालको स्थापना भएको थियो । नेपाल नेत्र ज्योति संघ अन्र्तगत संचालित अस्पताल स्थापना भएयता हालसम्म ३५ लाख बढी आँखाका बिरामीहरुलाई उपचार सेवा दिएको छ भने ८ लाख बढी बिरामीको आँखाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
सस्तोमा गुणस्तरीय उपचार सेवा पाउने भएपछि यो अस्पतालमा आँखाकै उपचारका निम्ति भारतको बंगाल र बिहार सहित विभिन्न राज्यबाट हजारौं विरामीहरु बर्षेनी विराटनगर आउने गरेका छन । अस्पतालले आँखाको सबै प्रकारका रोगको उपचार गर्नुका साथै नानी प्रत्यारोपण,आँखा सम्बन्धि शल्यक्रियाहरु सहित नशा सुकेर उपचारै नहुने बिरामीहरुलाई समाजमा पुर्नस्थापनाको कार्य समेत गर्दै आएको अस्पतालका प्रबन्धक कुमार पृथुले बताउनुभयो ।
अस्पतालमा ३२ जना नेत्र बिशेषज्ञ सहित ३५० जना स्वास्थ्यकर्मी र कर्मचारीहरुको टिमले सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।