विराटनगर । मोरङ क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्यकालागि जनता समाजबादी पार्टीका लोकप्रिय नेता राजकुमार यादवको नाम सिफारिस भएको छ ।

यादव जनता समाजबादी पार्टीको प्रदेश उपाध्यक्ष र मोरङ जिल्ला अध्यक्षको जिम्मेवारी वहनगर्दै आउनुभएको छ । मोरङको जहदा गाउँपालिकामा भदौ १६ गते भएको क्षेत्रनम्बर ५ को विस्तारित क्षेत्रीय बैठकले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवको नाम सिफारिस गरेको हो ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवारीदिन मधेशप्रदेशका विभिन्न जिल्लाबाट प्रस्ताव आएकोमा उनको उम्मेद्वारी उतै कतैबाट हुनसक्ने श्रोतले जनाएको छ । यद्यपि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ ५ बाट नै उठ्ने निर्णय गरे आफु सहर्षरुपमा उहाँलाई जिताउन खटिने मोरङ अध्यक्ष यादवले बताएका छन ।

राजकुमार यादव मधेश आन्दोलनमा अग्रपंक्तीमा खटिने नेताकोरुपमा आफ्नो पहिचान स्थापित गरिसकेका छन । २०६२÷६३ को मधेश आन्दोलनको बेला सक्रियरुपमा आन्दोलनमा होमिएका यादव कयौपटक पक्राउ परेर यातना समेत पाएका थिए । पार्टी र जनताको सेवामा निरन्तर खटिने जुझारु नेताकोरुपमा चिनिने यादव क्षेत्रबासी जनतासंग नियमित प्रत्यक्ष सम्पर्कमा रहन रुचाउँछन ।

भीषण बाढीले दिएको पीडा होस कि कोरोना महामारी कालमापनि यादव क्षेत्रवासीका घरघरै पुगेर उनिहरुको सेवामा खटिएका थिए । गएको निर्वाचनमा पराजित भएरपनि निरन्तर क्षेत्रबासीकै बिचमा रहँदै आएकाले यसपटक बिगतभन्दा आफ्नो स्थिति मजबुत रहेको यादवले बताएका छन । जसपाले क्षेत्र नम्बर ५ मा प्रदेशसभा (क) तर्फ पन्नालाल मण्डल, प्रकाश कुमार मण्डल, प्रमोद शर्मा र विमला साहको नाम सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेशसभा (ख) तर्फ प्रदेश १ का वर्तमान स्वास्थ्य मन्त्री जयराम यादव, दिनेश साह, मंतलाल यादव,अमृत महतो र विनिता सिंहको नाम सिफारिस गरेको छ । स्वास्थ्यमन्त्री यादव सोही क्षेत्रबाट उपनिर्वाचनमा संघीय सांसदमा निर्वाचित भएका थिए । मन्त्री यादव २०७४ को प्रदेशसभा निर्वाचनमा ५ (ख) बाट प्रदेशसभामा निर्वाचित भए ।

विसं २०६४ को संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली कांग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित भएका थिए ।

२०७० सालको निर्वाचनमा मोरङमा नौवटा संसदीय क्षेत्र थियो तर २०७४ सालको निर्वाचनमा मोरङ ६ वटा संसदीय क्षेत्रमा मात्र सीमित भएको छ । मोरङ क्षेत्र नम्बर ५ मा यसअघि २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका थिए ।

सो समयमा मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी भएका थिए भने नेपाली कांग्रेसका अमृत अर्यालले १९ हजार १५३ मत प्राप्त गरेका थिए । तत्कालीन संघीय समाजवादी फोरम नेपाल हाल जसपाका राजकुमार यादवले १८ हजार ६४९ मत पाएका थिए ।

सम्बन्धित खबरहरु