विराटनगर । पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक २०७९ को सर्मथनमा विराटनगरमा खबरदारी -याली निकालिएको छ ।

गएको साउन ३१ गते प्रतिनिधि सभाबाट पारित भएको सो बिधेयकको बिषयमा भदौ १६ गते राष्ट्रिय सभामा छलफल हुने भएपछि बिधेयक पास गर्नुपर्ने खबरदारी सहित -याली निकालिएको हो । पशु चिकित्सकहरु उक्त विधेयक पारित हुन नदिने षडयन्त्र गरिरहेको दाबीगर्दै खबरदारी -याली निकालिएको हो ।

नेपाल पारा भेटेरिनरी एण्ड लाईभ स्टक एशोसिएशन प्रदेश–१,नेपाल एनिमल साईन्स एशोसिएसन र नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघले संयुक्तरुपमा -याली निकालेका हुन । भेटनरी रोडबाट निकालिएको -यालीले रोडशेषचोक हुँदै महेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो क्रममा बोल्ने वक्ताहरुले यसअघि २०५५ सालमा लागु भएको पशु चिकित्सा परिषद ऐन अनुसार भेटनरी डाक्टरहरु मात्र काउन्सीलमा दर्ता हुन पाउने प्राबधान रहेकोले त्यसलाई परिमार्जित गरेर प्राबिधिकहरुलाई समेत समेटेर बिधेयक आएपछि चिकित्सकहरुले अनावश्यक विरोध गरिरहेको बताएका थिए ।

नेपाल पारा भेटेरिनरी एण्ड लाईभ स्टक एशोसिएशन प्रदेश–१ का संयोजक योगेन्द्रलाल यादवले बिधेयक पारितहुने अवस्थामा पुगेपछि असफल बनाउने षडयन्त्र शुरु भएपछि बाध्य भएर खबरदारी सभा गर्नुपरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल एनिमल साईन्स एशोसिएसनका कुमारसिंह खत्री र औषधि ब्यवसायि संघका बिष्णु निरौला लगायतले बिधेयकको पक्षमा बोल्नुभयो । सो अवसरमा सहभागिले बिधेयक पास गरियोस भन्दै नाराबाजी समेत गरेका थिए ।

सम्बन्धित खबरहरु