विराटनगर । विराटनगरमा आयोजना गरिएको नि∶शुल्क स्वास्थ्य शिवीरबाट २ सयजना ज्येष्ठ नागरीकले स्वास्थ्य सेवा लिएका छन ।
विराटनगर–९ कलेजरोड,भानु टोलस्थित नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) ले ज्येष्ठ नागरिकहरुकालागि आयोजना गरेको शिवीरबाट सो संख्याका विरामीले स्वास्थ्य सेवा लिएका हुन । शिविरमा स्त्रीरोग सेवा, आँखा, छालारोग तथा नाक,कान,घाँटी रोगका बिशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।
विराट हस्पिटलका डाक्टर सुनिल देवको नेतृत्वका चिकित्सकहरुले नगरक्षेत्रको विभिन्न वडा तथा संघसंस्थाबाट आएका विरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा आएका विरामीलाई आवश्यक औषधि समेत नि∶शुल्क उपलब्ध गराईएको थियो ।
शिविरबाट बढी भन्दा बढी ज्येष्ठ नागरीकहरुले सेवा लिन सकुन भन्ने उद्धेश्यले नगरक्षेत्रका विभिन्न वडामा क्रियाशिल ज्येष्ठ नागरीक संघसंस्थालाई पत्राचार गरेर त्यहाँका आश्रितलाई शिविरमा सहभागि गराईएको आयोजक संस्थाका कार्यसमिति सदस्य राजु श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि भएको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले एनआरडीएससी ले ज्येष्ठ नागरीकका क्षेत्रमा गर्दै आएको सेवाकार्य प्रशंसनिय रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरीकको सेवामा समर्पित सो संस्थालाई महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
आयोजक एनआरडीएससी का सभापति मणिकुमार अज्र्यालले आफ्नो संस्थाले स्वास्थ्य शिवीर आयोजना गरिएकै स्थानमा ज्येष्ठ नागरीकलाई लक्षितगरि ब्रह्मज्ञानी विश्रामालय समेत संचालनगर्दै आएको बताउनुभयो । सो विश्रामालयमा ५० जना बढी ज्येष्ठ नागरीहरु दैनिक आउने गरेको अज्र्यालले जानकारी गराउनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा समाजसेवी दीनबन्धु गोयल,विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर विशाल देव तथा अर्थशास्त्री एवम समाजसेवी भेषप्रसाद धमला लगायतको सहभागिता थियो ।
विराट मेडिकल एण्ड टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।