विराटनगर । विराटनगरकी एक चेली जैन साध्वी बन्न सन्यासलिंदै घरपरिवार त्याग गरेकी छिन । बिराटनगर ७ कि २२ बर्षिय दिक्षा नाहटाले जैन धर्मपरम्परा अनुसार साध्वी बन्न गृहत्याग गरेकी हुन ।

उनले मोक्षप्राप्तिको कामनासहित सांसारिक जीवनको भोगविलास त्यागगर्दै साध्वीको दिक्षा लिन लागेकी हुन । जैन धर्म अनुसार साध्वीको दिक्षालिन घरपरिवार,इष्टमित्र तथा नातागोताको परित्यागगर्दै गुरुपरम्परा अनुसार जीवन जिउनुुपर्ने हुन्छ ।

साध्वीको दिक्षा ग्रहण गरेपछि जीवनभर कुनैपनि सवारीसाधनको प्रयोग नगरी पैदलयात्रा गर्नुकासाथै रुपैयापैसा राख्न नपाईने,रात्रीकालको भोजन गर्न नहुने र सिंगो जीवन धार्मिक आराधनामा ब्यतित गर्नुपर्ने हुन्छ । यहि भदौ २४ गतेकादिन जैन धर्मका सबभन्दा पुज्यगुरु आचार्य महाश्रमणबाट उनले धार्मिक दिक्षा लिन लागेकी हुन ।

दिक्षा लिन आवश्यक धार्मिक शिक्षा र उपासना लगायतका सबै चरण पार गरिसकेर मुमुक्षु बनिसकेकी उनलाई मंगलबार विराटनगरमा अभिनन्दन सहित नगर परिक्रमा गराईएको छ । स्थानिय जैन भवनबाट सजाईएको रथमा राखेर उनलाई नगर परिक्रमा गराईएको थियो ।

कठिन साधना र धेरै चरण पार गरेपछिमात्र केहि भाग्यमानीले मात्र साध्वी बन्ने अवसर हासिल गर्ने गरेको तेरापंथ यूवाक परिषदका सचिव मोहित लालवानीले बताउनुभयो । यसबर्ष राजस्थानको छापरमा आचार्य महाश्रमणको चर्तुमास चलिरहेकाले सोहि ठाउँ दिक्षा नाहटालाई आचार्य महाश्रमणले साध्वीको दिक्षा दिनुहुने कार्यक्रम छ ।

दिक्षाले विराटनगरकै एक निजी बोर्डिङ स्कुलबाट कक्षा दससम्म र भारतबाट प्राकृत भाषामा एमए गरेको उनको पारिवारिक श्रोतले बताएको छ । भारतको राजस्थानमा दिक्षाले पारमार्थिक शिक्षा लिएको जनाईएको छ । सानै उमेरदेखी दिक्षाले सन्यास लिने बताउँदै आएकोले आफुले समेत सहमति दिएको बाबु राकेश नाहटाले बताउनुभयो ।

मुमुक्षु नाहटाको सम्मानमा मेनरोडस्थित जैन भवन परिसरमा अभिनन्दन सभा समेत आयोजना गरिएको छ । तेरापन्थ महिला मण्डल,तेरापन्थ युवक परिसद,तेरापन्थ प्रोफेस्नल फोरम र अनुब्रत समितिले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन ।

विराटनगरबाट हालसम्म जैन समुदायका ७ जना महिलाहरुले साध्वीको दिक्षा लिन सन्यास लिएको जनाईएको छ ।

सम्बन्धित खबरहरु