विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विपन्न समुदायका १५० विद्यार्थीलाई छाता वितरण गरेको छ ।

डाउन टाउनले विराटनगर–४ खार्जीस्थित ज्योति आधारभुत विद्यालयमा अध्यनरत डेढ सय विद्यार्थीलाई छाता वितरण गरेको हो । विद्यालय परिसरमा आज आयोजित कार्यक्रमकाबीच रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष रेखा राठी,एनआईसी एशिया बैंकका प्रदेश प्रमुख विकाश खरेल सहित क्लबका पदाधिकारीहरुले छात्रछात्राहरुलाई छाता हस्तान्तरण गर्नुभयो ।

उक्त विद्यालयमा विपन्न ऋषिदेव समुदायका बहुसंख्यक विद्यार्थीहरु अध्यनरत रहेको विद्यालयका प्रधानाध्यापक भिम पौडेलले जानकारी दिनुभयो । छाता पाएपछि विद्यार्थीलाई घामा पानीमा समेत विद्यालय आउन जान सहज हुने उहाँले बताउनुभयो । एनआईसी एशिया बैंकसंगको सहकार्यमा छाता वितरण गरिएको आयोजकले जनाएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर ४ को खार्जी टोलमा रहेको ऋषिदेव बस्तीलाई वितेको जुलाई १ बाट अभिभावकत्व ग्रहण गरेको जनाईएको छ । अभिभावकत्व ग्रहण गरिएकोले आउदो एकबर्ष भित्रमा बस्तीमा सर्वसाधारणका न्युनतम आवश्यकतालाई पुरागर्दै नमुना बस्ती बनाउन डाउन टाउनले कामगर्ने आयोजक संस्थाकी अध्यक्ष रेखा राठीले बताउनुभयो ।

सोहि कार्यक्रम अन्र्तगत बस्तीका विद्यार्थीलाई लक्षित गरेर छाता वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उक्त बस्तीमा विपन्न ऋषिदेव समुदायका ४ सय परिवारको बसोबास छ । बस्तीमा शौचालय र खानेपानीको अभावका साथै बालबालिकाहरु विद्यालय नजाने लगायतका समस्या रहेको डाउन टाउनकी अध्यक्ष राठीले बताउनुभयो ।

आफुहरुले अभिभावकत्व ग्रहण गरेपछि बस्तीमा शौचालय निर्माण,खानेपानीको ब्यवस्थापन र बृक्षारोपण लगायतको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरु किरण कर्ण,अर्चना शर्मा,मधु काबरा,अर्चना तापडिया,सुनिता अग्रवाल,नमिता टिवडेवाला तथा पुजा तोदी लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु