विराटनगर । १९ औं राष्ट्रिय धान दिवसको अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाई मोरङले सुन्दर हरैचामा कार्यक्रम गरेको छ ।

परियोजनाले सुन्दर हरैंचा नगरपालिकाको वडानम्बर ११ मृगौलियामा धान दिवस तथा रोपाई महोत्सव विशेष कार्यक्रम आयोजना गरेको हो । स्थानिय साना किसान कृषि सहकारी संस्था लिमिटेडसंगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा बोल्नुहुँदै परियोजना कायान्वय ईकाई मोरङका प्रमुख रामबलम प्रसाद साहले उत्पादन र उत्पादकत्व बृद्धि गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । त्यसकालागि खेती किसानीमा उन्नत प्रबिधिको प्रयोग,यान्त्रिकरण र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा सहभागि किसान र परियोजना आबद्ध कर्मचारीहरुले संयुक्तरुपमा धान रोपाई गरेका थिए । कार्यक्रम लगत्तै सहभागिले सगुन स्वरुप दहीच्यूरा खाएका थिए । कार्यक्रममा परियोजना कार्यान्वयन ईकाई मोरङका अधिकृत प्रतिक्षा श्रेष्ठ र साना किसान कृषि सहकारीका अध्यक्ष हरीबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।

मोरङमा ८४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । असार १५ गते प्रत्येक बर्ष राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गरिन्छ ।

सम्बन्धित खबरहरु