ग्रामथान । गैर नाफामुलक सामाजिक संस्था सामुदायिक विकास समाज (सिडिएस) ले विपन्न समुदायलाई लक्षितगरि निशुल्क मासिक स्वास्थ्य क्लिनिक संचालनमा ल्याएको छ ।
मोरङको ग्रामथान गाउँपालिका वडानम्बर १ को खापटोलमा क्लिनिक संचालनमा ल्याइएको हो । विराटनगर–३ मा केन्द्रीय कार्यालय रहेको सो संस्थाले आफ्नो स्थापनाको २४ औं बर्ष पुरागरि २५ औं बर्ष प्रवेशको अवसरमा क्लिनिक संचालनमा ल्याएको हो । शनिवारबाट संचालनमा ल्याइएको क्लिनिकबाट ५१ जना महिलासहित ८१ जना सर्वसाधारणले स्वास्थय लाभ लिएका छन ।
क्लिनिकमा आएको विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । विरामीहरुलाई जेनरल फिजिशियन डाक्टर अनुप यादव,पुर्व जनस्वास्थय अधिकृत विपुलेन्द्र झा र ग्रामथान १ स्थित स्वास्थ्यचौकीका टंक ढकालले स्वास्थ्य सेवा प्रदान गर्नुभयो । संस्थाको रजत जयन्तिको अवसर पारेर संचालनमा ल्याइएको क्लिनिक नियमितरुपमा प्रत्येक महिनाको अन्तिम शनिवार संचालन हुने सिडिएसका अध्यक्ष गंगाप्रसाद यादवले जानकारी दिनुभयो ।
विपन्न समुदायलाई लक्षितगरि संचालनमा ल्याइएको क्लिनिकमा महिनाको एकदिन नियमितरुपमा विज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो । संस्थाको रजत जयन्तिकै अवसर पारेर खापटोलस्थित संस्थाको जग्गा परिसरमा बृक्षारोपण समेत गरिएको छ ।
बृक्षारोपणमा ग्रामथान गाउँपालिका १ का वडाध्यक्ष सुरेशकुमार माझी,समाजसेवीहरु घनश्याम काबरा,रामअवतार अग्रवाल र सल्लाहकार जुगलकिशोर राठी लगायत सिडिएसका सदस्य र पदाधिकारी सहभागि भएका थिए । सो अवसरमा सिडिएसले असार १० गते विराटनगरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २७ पिन्ट रक्त संकलन भएको छ ।
रजत बर्षकै अवसर पारेर संस्थाले स्मारिका प्रकाशन गर्ने,संस्थाको सामाजिक विकासका क्रियाकलापलाई निरन्तरता दिन अक्षय कोष स्थापना गर्ने,विकास पत्रकारितामा क्रियाशिल दुईजना सञ्चारकर्मीलाई सम्मान गर्ने,कृषि विकासकालागि संस्थागत योगदान दिने र सामाजिक सेवामा समर्पित ब्यक्तीहरुलाई सम्मान गर्ने लगायतका निर्णय गरेको संस्थाका सचिव विपुलेन्द्र झाले जानकारी दिनुभयो ।
२०५५ सालमा स्थापना भएको सिडिएसले कृषि,स्वास्थ्य,गरिबि निवारण र विभेद अन्त्य लगायतका क्षेत्रमा काम गर्दै आएको छ । यो संस्थामा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषहरुको आबद्धता रहेको जनाइएको छ ।