विराटनगर । विराटनगरको वडानम्बर १२ बखरीमा श्री नवदुर्गा मन्दिर निर्माण हुने भएको छ ।
बखरीस्थित मंगलबारेमा निर्माणहुने मन्दिरको बिहीबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले सो मन्दिरको शिलान्यास गर्नुभयो । सो ठाउँमा २ कट्ठा साढे ७ धुर जग्गामा मन्दिर निर्माण हुन लागेको हो ।
मन्दिर निर्माणका निम्ति स्थानीय मिरा अर्यालले १४.३ धुर र प्रहलादप्रसाद अर्यालले १३.२ धुर जग्गा दान दिनुभएको जनाइएको छ । मन्दिर निर्माणकानिम्ति स्थानीय जवाहरलाल कामतको अध्यक्षतामा एक समिति गठन गरिएको छ । स्थानियवासीले सो जग्गामा प्रत्येक दर्शैमा ५ दशक अघिदेखीनै देवी दुर्गाको माटोको मुर्ती निर्माणगरि ९ दिनसम्म नवरात्रको पुजापाठ गर्दै आएका थिए ।
पछिल्लो समय जग्गाधनिले मन्दिर निर्माणकानिम्ति जग्गा पास गरिदिएपछि मन्दिर निर्माणको कार्य शुरुगर्न लागिएको विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामतले जानकारी दिनुभयो । हाल मन्दिर समितिको आफ्नै श्रोतबाट जम्मा भएको ५ लाखबाट मन्दिरको निर्माण कार्यशुरु गरिन लागेको उहाँले बताउनुभयो ।
पछि महानगरपालिका,वडा कार्यालय तथा जनश्रमदानबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ४० फिट अग्लो तथा ३८ बाई ३२ फिट लम्बाई चौडाईको मन्दिर निर्माणगर्न झण्डै एक करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
मन्दिर शिलान्यास कार्यक्रममा विराटनगर १२ का वडासदस्य कुशेश्वर राजवंशी,समाजसेवी प्रवीणनारायण चौधरी सहित धर्मानुरागिहरुको सहभागिता थियो ।