विराटनगर । पारम्परिक युरिया मलको विकल्पकोरुपमा नेपालमा नेनो युरिया भित्र्याइएको छ । तरल पदार्थकोरुपमा उपलब्ध हुने यो युरिया बोतलमा उपलब्ध हुन्छ ।
विराटनगरस्थित प्रदेश एकको कृषि मन्त्रालय परिसरमा सोमबार आयोजित एक कार्यक्रमकाबीच यो युरिया लन्च गरिएको छ । प्रदेशका कृषि मन्त्रि झलक दर्लामी मगरले ‘ईफ्को नेनो युरिया’ लन्च गर्नुभयो । विराटनगरको नेपाल मल्टी ट्रेड सेन्टरले यो युरिया नेपालमा भित्र्याएको हो ।
भारतको नेनो बायोटेक्नोलोजी रिसर्च सेन्टरका बैज्ञानिकहरुले तरल पदार्थकोरुपमा रहेको यो युरियाको बिकास गरेको जनाइएको छ । यो युरिया ५ सय एमएलको प्लाष्टिकको बोतलमा उपलब्ध हुन्छ । परीक्षणपछि २०२१ मा भारतमा यो युरियाको लन्च गरिएको हो ।
नेपालमा समेत नार्कले ७ महिनाको सफल परीक्षण गरेर सिफारिस गरेपछि इफ्को नेनो युरियाको आयात गर्न थालिएको नेपाल मल्टी ट्रेड सेन्टरका संचालक राकेश सुरानाले जानकारी दिनुभयो । ठोस युरियाको प्रयोग गरिने जुनसुकै बालीमा झोलको रुपमा रहेको यो युरिया प्रयोग गर्नसकिने जनाइएको छ ।
१ लिटर पानीमा ४ एमएल यो युरियाको झोल हालेर प्रयोग गर्न सकिन्छ । ठोस युरिया बालीको जरामा हाल्ने गरिएपनि यो युरिया पातमा स्प्रे गरेर छर्किनु पर्ने हुन्छ । बिउ लगाउदा शूरुमा माटोमा ठोस युरिया प्रयोग गर्नुपर्ने भएपनि बिउ उम्रेर पलाएपछि पातमा स्प्रे गरेर पहिलो पटक र बालीको फुल लाग्नु अघि दोश्रो पटक नेनो युरिया प्रयोग गर्न सकिने कार्यक्रममा जनाइएको थियो ।
नेनो युरियाले पारम्परिक युरियाको प्रयोगलाई ५० प्रतिशत सम्म कम गर्ने दाबी गरिएको छ । ५ सय एमएलको यो युरिया ४ सय रुपैयामा उपलब्ध हुने जनाइएको छ । यो युरियाको प्रयोगले किसानलाई ढुवानीको बचत हुनुका साथै महँगो पारम्परिक युरिया किन्नुपर्ने बाध्यतालाई कमगर्ने वितरक कम्पनीले दाबी गरेको छ ।
यस्तै प्रदूषण नियन्त्रणगर्न समेत नेनो युरिया साहायक हुने जनाईएको छ ।