विराटनगर । स्थानीयतह निर्वाचनलाई लक्षित गरेर नियुक्त गरिएका म्यादी प्रहरीहरुलाई मोरङ प्रहरीले विदाई गरेको छ ।

४० दिने सेवाअवधि पुरा भएसंगै जिल्ला प्रहरी कार्यालय मोरङले शनिवार म्यादी प्रहरीलाई विदाई गरेको हो । सो अवसरमा बोल्नुहुँदै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले छोटो अवधिको तालिमबाटपनि म्यादी प्रहरीले निर्वाचनमा अब्बल कार्यकौशल प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले केहि महिनापछि हुने संघ र प्रदेश निर्वाचनको समयमापनि अहिलेकै म्यादी प्रहरीहरुलाई अवसर दिलाउनेगरि आफुले पहलगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

म्यादी प्रहरीलाई प्रमुख जिल्ला अधिकारी दाहालका साथै भैरवगण थलाहाका सेनानी देवेन्द्र खत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोईराला,सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने र राष्ट्रिय अनुसन्धान मोरङका उप अनुसन्धान निर्देशक बासुदेव सिग्देलले प्रमाणपत्र वितरण गर्दै विदाई गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै एसपी कोईरालाले मोरङमा शान्तिपुर्ण निर्वाचन सम्पन्नगर्न म्यादी प्रहरीको भुमिका सराहनीय रहेको बताउनुभयो । मोरङमा २३०२ जना पुरुष र ८२२ महिलागरि ३१२४ जना म्यादी प्रहरीहरु नियुक्त गरिएका थिए ।

जसमा पुर्व प्रहरी कर्मचारीबाट २८ जना,पूर्व नेपाली सेनाबाट २८ जना,पूर्व सशस्त्र प्रहरीबल बाट ११ जना र पूर्व म्यादी प्रहरीबाट ४११ जनालाई समेत छनौट गरिएको थियो । उनिहरुलाई २०७८ चैत २८ गतेबाट नियुक्तगरि १० दिनको म्यादी प्रहरी तालिम दिइएको थियो ।

चैत २८ बाट सेवा अवधि शुरु भएको म्यादी प्रहरीको २०७९ जेठ ६ गते सेवा अवधि समाप्त भएको छ । घर फर्किन लागेका म्यादी प्रहरीले एउटा सुखद अनुभवसहित घर फर्किन लागेको बताएका छन ।

७ सय बढी म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मोरङ कार्यालय परिसरबाट विदाई गरिएको छ भने अन्यलाई उर्लाबारी,पथरी,बेलबारी,सिजुवा र ईलाका प्रहरी कार्यालय रंगेलीबाट बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

४० दिने सेवा अवधिमा म्यादी प्रहरीले तलब, पोशाक,रासन र यातायात खर्च समेतमा करकट्टी गरेर ४४ हजार ५ रुपैया ६० पैसा आर्जन गरेका छन ।

सम्बन्धित खबरहरु