भारदह (सप्तरी ) । सप्तरीको हनुमान नगर कंकालनी नगरपालिकाको वडा नम्बर ४ का अगुवा महिलाहरु स्वतन्त्र समुह बनाएर निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् ।
स्थानीय शैल्जा झाको नेतृत्वमा समुह बनाएर महिलाहरु निर्वाचनमा होमिएका हुन । ‘जाईत पर नै पाईत पर,अइबेर मोहर लगावी समाजक प्रगतीके पथ पर’ भन्ने नाराका साथ महिलाहरुले नमुना वडा बनाउन निर्वाचनमा होमिएको बताउछन ।
दलहरुले महिलालाई सहभागिता गराएपनि नेतृत्वमा जान नदिने परम्परालाई तोड्दै समाज परिवर्तनगर्न महिलाहरु समुह बनाएर निर्वाचनमा होमिएको वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी शैल्जा झाले बताउनुभयो ।
आधा भन्दा बढी जनसख्या महिला भएको वडामा पहिलो पटक महिलाहरु समुह बनाएर वडाको जनताको चाहना अनुसार विकासको कामगर्ने उहाँले दाबी गर्नुभयो ।
उक्त वडाबाट स्वतन्त्रमा ललितादेवी सदा,सहारुन खातुन,मयादेवी मण्डल र अदुलियादेवी सरदारले उम्मेदवारी दिनूभएको छ । उम्मेदवारहरुले भ्रष्टाचार मुक्त वडा बनाउने, हरेक कार्यलाई पादरदर्शी बनाई जनता समक्ष राख्ने,वडामा रहेका हरेक विद्यालयको शैक्षिकस्तर उन्नतिगर्ने तथा अंग्रेजी माध्यमबाट अध्ययन अध्यापनको ब्यवस्थागर्ने लगायतका प्रतिबद्धता जनाएका छन ।
यस्तै महिलाहरुले समानुपातिक सहभागिता गराउने लगायतका चुनावी एजेन्डा समेत अघि सारेका छन् ।