विराटनगर ८ बैशाख । मैथिली भाषाका सुप्रसिद्ध कथाकार रा.ना.सुधाकरको ‘दीयरि’ कथा संग्रह विमोचन हुने भएको छ ।

कथाकार सुधाकर लिखित मैथिली भाषाका २० वटा कथा समेटिएको सो संग्रह मिथिलेश्वरी मिडिया प्रा.लि.ले प्रकाशित गर्न लागेको हो । आउदो बैशाख १६ गते विराटनगरमा साहित्यकार, तथा कलाकर्मीहरुको उपस्थितिमा सो संग्रह विमोचनको तयारी गरिएको छ । कथा संग्रहको कर्ण संजयले सम्पादन गर्नुभएको छ ।

मैथिली भाषाका विद्धानहरुबाट नेपालको सर्वश्रेष्ठ मैथिली कथाकारको उपमा पाउनुभएका सुधाकरको पहिलो कृतिकारुपमा यो संग्रह प्रकाशन हुन लागेको हो । सुधाकरका सयौं रचना नेपाल तथा भारतका प्रतिष्ठित पत्रपत्रिकाहरुमा प्रकाशन भएको भएपनि हालसम्म संग्रहकोरुपमा प्रकाशन हुन सकेको थिएन ।

साहित्यकार सुधाकरको नाम कथा साहित्यका साथै कविता र गीत लेखनमा समेत मैथिली साहित्यमा अग्रणी नामहरु मध्येको एक हो । प्रकाशनोन्मुख संग्रहको शिर्षक कथा ‘दीयरि’ त्रिभुवन विश्वविद्यालयको स्नातक तहको मैथिली संकायको पाठ्यक्रममा समेत समावेश गरिएको कथा हो ।

‘दीयरि’ कथा संग्रह यसअघि नै ‘नेपाल विद्यापति मैथिली पाण्डूलिपि पुरस्कार २०६९’ बाट पुरस्कृत भइसकेको छ । मौलिक कथा शिल्प तथा कृतिहरुका कारण सुधाकरको नाम अग्रणी स्थानमा लिने गरिएपनि हालसम्म उहाँको कुनैपनि संग्रह प्रकाशन हुन नसकेको अवस्थालाई बोधगर्दै मिथिलेश्वरी मिडिया प्रालिले कथा संग्रह प्रकाशनगर्न लागेको अध्यक्ष नवीन कर्णले बताउनुभयो ।

प्रकाशनोन्मुख कथा संग्रहमा शिर्षक कथा ‘दीयरि’का साथै ‘थकुचल मासुक बुट्टी’, ‘रामपरी’,चान अशोथकित अछि’, ‘छाहरि तर’क काँट’, ‘घरमुहाँ’, ‘नुक्का चोरी’, ‘अस्तित्व’, ‘चिल्होडि उडि रहल अछि’, ‘खुट्टी पर टाँगल ब्रा’, ‘संधि’, ‘कर्जखोर’, ‘छागर’,‘झखड़ल फूलक गाछ’, ‘सुनगैत करेज’, ‘परिवेश’, ‘स्वप्न भंग’, ‘उपहार’,‘खण्डित लोक’ र ‘प्रदक्षिणा’ शिर्षकका कथाहरु समेटिएका छन ।

यि कथाहरु समावेश गरेर पहिलो कथा संग्रह विमोचनको क्रममा रहेपनि सुधाकरका थप ८ वटा साहित्यिक कृतिहरु अझ अप्रकाशित नै छ । उहाँका अप्रकाशित अन्य कृतिहरुमा मैथिली कथा संग्रह ‘विकल्प’ रहेको छ । ३ कविता संग्रहहरु ‘अच्छत’, ‘धरोहर’, र ‘प्रेमपत्र’ तथा गीत संग्रह ‘सयपत्री’, ‘कब–कब’ का साथै गीतगजल ‘कागजके फुल’ र ‘हीरा मोती’ शिर्षकका साहित्यिक संग्रहहरु प्रकाशनको प्रतिक्षामा छन ।

यसका अतिरिक्त उहाँका अन्य थुप्रै फुटकर साहित्यिक रचनाहरु समेत अप्रकाशित अवस्थामा छन । रा.ना.सुधाकरको उपनामले साहित्यिक रचनागर्ने उहाँको पुरा नाम रामनारायण सुधाकर हो । विरगंजको कलैया,मल्हनीमा विक्रम सम्बत २००२ मा जन्मिुन भएका सुधाकरको हालको स्थायी ठेगाना विराटनगर १४ को भगवती टोल हो । २०२६ सालबाट उहाँ साहित्य साधनामा लाग्नु भएको जनाइएको छ ।

हालसम्म सुधाकरले नेपाल विद्यापति मैथिली पाण्डूलिपि पुरस्कार,आठम अन्र्तराष्ट्रिय मैथिली सम्मेलन,मैथिली विकास अभियान,श्याम–कला मैथिली सेवा पुरस्कार,सामाजिक महिला उत्थान समुह र सामाजिक विकास मन्त्रालय प्रदेश–१ बाट सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसक्नु भएको छ ।

सम्बन्धित खबरहरु