विराटनगर १८ चैत । विराटनगर १४ कठकुप्पास्थित श्री जनता बाल आधारभुत विद्यालयमा स्वच्छ खानेपानीका निम्ति आरओ प्रबिधिको खानेपानी मेशिन जडान गरिएको छ ।

प्रदेश एकको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सो विद्यालयमा स्वच्छ खानेपानी मेशिन जडान गरिएको हो । शुक्रबार बिहान आयोजित कार्यक्रमकाबीच प्रदेश एकका स्वास्थ्य मन्त्री जयराम यादवले खानेपानीको उदघाटन गर्नुभयो । यसअघि सामाजिक विकास मन्त्री रहनुभएको बेला स्वास्थ्य मन्त्री यादवकै पहलमा सो विद्यालयमा खानेपानी प्लान्ट जडानगर्न बजेट उपलब्ध गराइएको विद्यालयका प्र्धानाध्यापक राजेश प्रसाद यादवले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयले सो विद्यालयमा स्वच्छ खानेपानीका निम्ति ५ लाख र प्रवेशद्वार निर्माण शिर्षकमा ४ लाखगरि जम्मा ९ लाख बजेट उपलब्ध गराएको जनाइएको छ । उपलब्ध भएको बजेटबाट विद्यालय परिसरमैं आरओ प्रबिधि जडान गर्न एक कोठे भवन र प्रवेशद्वार समेत निर्माण गरिएको प्रअ यादवले बताउनुभयो । आरओ प्रबिधिबाट प्रशोधित स्वच्छ पानी विद्यालय परिसरमै उपलब्ध भएपछि विद्यालयमा अध्यनरत ५ सय विद्यार्थी,शिक्षक र कर्मचारी लाभान्वित हुने विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष प्रमोदकुमार यादवले बताउनुभयो ।

यसअघि विद्यालयमा स्वच्छ पानीको अभावमा विद्यार्थीहरु पारम्परिक चापाकलको पानी खान बाध्य हुँदै आएकोमा अब त्यो अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । सो अवसरमा बोल्नुहुँदै स्वास्थ्य मन्त्री यादवले खानेपानीको शुद्धतामा मात्र ध्यान दिनसके अनेकौं प्रकारका रोगहरुलाई न्युनिकरण गर्न सकिने बताउनुभयो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु सितलीदेवी कामत,आशाकुमारी महतो,अवधेष चौधरी,निलमदेवी यादव,प्रेमसागर महतो,राजनन्दन महतो र शान्ता बराल लगायत स्थानिय समाजसेवी र विद्यार्थीका अभिभावकहरुको सहभागिता थियो ।

विराटनगर १४ जतुवाको भित्री क्षेत्रमा पर्ने सो विद्यालयमा सिमान्तकृत,दलित र विपन्न समुदायका बालबालिका अध्यनगर्दै आएका छन ।

सम्बन्धित खबरहरु