विराटनगर १२ चैत । आज २६ मार्च, विश्व छारेरोग दिवसका रुपमा संसारभरि विभिन्न कार्यक्रमगरि मनाईदै छ ।

यो दिवसको अवसरमा छारे रोग न्युनिकरणगर्न जनचेतना जगाउने लगायतका कार्यक्रमगरि मनाउने गरिन्छ । सो अवसरमा विराटनगरस्थित न्यूरो अस्पतालले प्रभातफेरी कार्यक्रम गरेको छ । विराटनगर–१० स्थित अस्पताल परिसरबाट निकालिएको प्रभातफेरीका सहभागिले हस्पिटलचोक,शहिद रंगशाला,जिल्ला प्रशासनचोक बाट मेनरोड,संसारीमाई स्थान हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमागरि फेरी अस्पताल परिसरमै पुगेर समापन भएको थियो ।

प्रभातफेरीका सहभागिले ‘रातो भाले र कालो परेवा चढाएर छारे रोग निको हुँदैन’,‘छारे रोग देवीदेउता रिसाएर लाग्ने रोग होईन’ र ‘औषधि सेवन गरे छारे रोग निको हुन्छ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रभातफेरीमा न्यूरो हेल्थ कलेजका विद्यार्थीहरुका साथै न्यूरो अस्पतालका चिकित्सक,कर्मचारी तथा स्वास्थ्यकर्मीहरु सहभागि भएका छन ।

छारेरोग औषधि सेवनबाट निको हुने रोग रहेपनि यो रोगका बिषयमा समाजमा ब्याप्त अन्धविश्वास तथा भ्रमहरुका कारण न्युनिकरणमा समस्या देखिएको न्यूरो अस्पतालका न्यूरोलोजिष्ट डाक्टर विरेन्द्र बिष्टले बताउनुभयो ।


छारे रोग न्युनिकरणको उद्धेश्यसहित न्यूरो अस्पतालले चैत १३ बाट १८ गतेसम्मकालागि छारे रोग सम्बन्धि निशुल्क ओपिडि सेवा समेत संचालन गर्ने अस्पतालका आउट रिच विभागका कार्यक्रम संयोजक भारत श्रेष्ठले बताउनुभयो । निशुल्क ओपिडिमा अस्पतालका न्यूरोलोजिष्ट डाक्टर विष्ट सहित,न्यूरो सर्जन डाक्टर यामबहादुर रोक्का र न्यूरो साईक्याट्रिक डाक्टर रंजन थापाले उपचार सेवा दिनुहुनेछ ।

सो अवधिमा सेवा लिन आएका विरामीलाई १ महिनाको औषधि समेत निशुल्क प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो । विश्वको १ प्रतिसत जनसंख्यामा यो रोग देखिएको तथ्यांकका आधारमा नेपालमा ३ लाख यो रोगका विरामी हुनसक्ने अनुमान गरिएको छ ।

१० बर्षदेखि १२ बर्ष उमेर समुहका बालबालिकामा यो रोगको प्रभाव बढी देखिएको जनाइएको छ । ३ बर्षसम्म निरन्तर औषधि सेवनबाट यो रोग निको हुने चिकित्सकहरुले बताएका छन ।

सम्बन्धित खबरहरु