विराटनगर ११ चैत । विराटनगरमा शुक्रबारदेखि सुरू भएको दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा धरानको गोधुली फुटबल क्लब विजयी भइ सेमिफाइनलमा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी एघार मोरङलाई ‘सडन डेथ’ मा ७–६ गोलले हराउँदै धरान सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । धरानले नतिजाका लागि सडन डेथसम्म संघर्ष गर्नुप-यो ।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेले । गोलरहित बराबरीपछि समय अभावले खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पनि दुवै टोलीले ५–५ को बराबरी खेलेपछि नतिजा सडन डेथबाट निस्किएको हो । सडन डेथमा धरानका दोर्जे तामाङ्ग, मिलन राई, मनोज राई, हेमन्त थापा मगर, दिवस सुनवार, जीवन गुरूङ र कपन कार्कीले विजयी गोल गरे ।
दोस्रो हाफदेखि आक्रमक खेलेको धरानले एक दर्जन गोल गर्ने अवसर खेर फाल्दा जित निकाल्न सडन डेथ कुर्नप-यो । खेलको म्यान अफ द म्याच धरानको गोल किपर किशोर गिरी घोषित भए ।
शनिबारको खेल एन्फा एकेडेमी धरान सुनसरी र दमक एकेडेमी झापा बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेका थिए ।