विराटनगर ८ चैत । विराटनगरका समाजसेवी मनोज गोयलले मेधावी छात्राहरुलाई छात्रबृति वितरणको उद्धेश्यसहित १० लाख रकमको अक्षयकोष स्थापना गर्नुभएको छ ।

समाजसेवी गोयलले विराटनगर ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयका छात्राहरुलाई छात्रबृति वितरणको उद्धेश्यसहित अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँले आफ्नी स्वर्गिय पत्नी श्रीमती सुमनदेवी गोयलको स्मृतिमा कोषको स्थापना गर्नुभएको हो । विद्यालय परिसरमा आज आयोजित कार्यक्रमकाबीच समाजसेवी एवम् कोषका संरक्षक दीनबन्धु गोयलले अक्षयकोषको घोषणा गर्नुभयो ।

सो बिषयमा जानकारी दिनुहुँदै उहाँले अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजबाट प्रत्येकबर्ष कक्षा ६ देखि १२ सम्मका कक्षा प्रथम हुने ७ जना छात्रालाई ११ हजारका दरले छात्रबृति प्रदान गरिने बताउनुभयो । अक्षयकोषका संस्थापक मनोज गोयल सोहि विद्यालयका पुर्व विद्यार्थी समेत रहनुभएको जनाइएको छ । यसैबीच कार्यक्रममा कक्षा ९ देखी १२ सम्मका २२ जना मेधावी विद्यार्थीलाई ३ हजार र ४ हजारका दरले छात्रबृति प्रदान गरिएको थियो ।

गोयल परिवारद्वारा यसअघि २०५८ सालमा पनि स्थापना गरिएको सुमनदेवी गोयल छात्रबृतिको पहिलो कोषबाट २२ जना विद्यार्थीलाई ७८ हजार रकमको छात्रबृति प्रदान गरिएको हो । कार्यक्रमकाबीच समाजसेवी दीनबन्धु गोयल तथा मनोज गोयल,नेपाल पत्रकार महासंघका मोरङ अध्यक्ष संजिव खनाल,विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेल र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ लगायतले विद्यार्थीलाई प्रशंसा पत्र र छात्रबृतिको रकम हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा विद्यालयले समेत आफ्नो आन्तरिक श्रोतबाट १५ जना विद्यार्थीलाई छात्रबृति वितरण गरेको थियो । २०७७ सालको बार्षिक परीक्षामा हरेक बिषयक्षेत्रमा प्रथम हुने छात्रछात्रालाई न्युनतम ३ हजारदेखी अधिकतम २८ हजार राशिको छात्रबृति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु